काठमाडौं / विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई खोज्न संयुक्त सुरक्षा निकायको टोली कालिकोटको सान्नित्रिवेणी , रास्कोट हुँदै नरहरिनाथ गाउँपालिका पसेको जनाइएको छ ।
जिल्लाका सुरक्षा निकायले नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड कालिकोट आएको आशंकामा गस्ती अभियान तीव्र बनाएको बुझिएको छ । यस कुराको पुस्टि गर्दै जिल्ला प्रहरी प्रमुख विनोद शर्माले नेकपाका उच्च तहका नेताहरू कालिकोट आएको भन्ने सूचना प्राप्त भएकाले घेराउ गरी पक्राउ गर्न गाउँ केन्द्रित गस्ती सुरु गरिएको जनाए ।
कालिकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले जिल्ला निकै शान्त रहेको बताए। उनले भने, ‘नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती गाउँतिर गएको छ। नेकपाका नेताबारे सूचना संकलन गर्ने कार्य भइरहेको छ।’
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माको गृह जिल्ला कालिकोट सुरक्षा दृष्टिले निकै ‘संवेदनशील’ बनेको छ।
विश्वकर्माको अगुवाइमा मालकोटमा २१०० वर्ग्फिटको सहिद स्मृति भवन र पार्टी हेडक्वार्टर कार्यालय बनाउन थालिएको छ।हेडक्वार्टरसम्म पुग्न १४ किलोमिटर बाटो खन्न थालिएको छ। खुलालु-लालु-मालकोटसम्म १४ किलोमिटर सडक विप्लव माओवादीले खनिरहेको प्रहरीले जनायो।
यो कालिकोट सदरमुकाम मान्मबाट ११ किलोमिटर टाढा कर्णालीपारिको भू-भाग हो। सदरमुकामबाट कर्णाली नदीसम्म बाटो छ। तर, कर्णालीपारि बाटो छैन। कर्णाली नदीमा पुल बन्दैछ। नदीबाटै डोजर पार गराएर विप्लव माओवादीले बाटो खन्न थालेको प्रहरी स्रोतले जनाएको छ ।
मंगलबार मन्त्रिपरिषद बैठकले विप्लवका माओवादीका गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि कालिकोट प्रहरीले जिल्लाका केही स्थानमा रातभरि ‘अपरेसन’ चलायो। कुमालगाउँ, कोटबाडालगायत स्थानमा प्रहरी परिचालन भए पनि कोही फेला नपरेको कालिकोट प्रहरीले जनाएको छ।
विप्लव माओवादीले झन्डै पाँच करोड लागतमा सडक खन्न थालेको हो। सात किलोमिटर सडक खनिसकिएको छ । सवा करोड मूल्य पर्ने दुई वटा डोजर बाटो खन्न ल्याइएको छ । बम बिस्फोट, चन्दाआतंक बढेपछि अहिले सडक र पार्टी हेडक्वार्टर भवनको निर्माण प्रहरीले रोकिदिएको छ।
कालिकोट विप्लव माओवादीको गढ हो। यहाँ हरेक घर विप्लव माओवादीका कार्यकर्ता छन्। युवादेखि वृद्धवृद्धासम्म विप्लव माओवादीका कार्यकर्ता छन्।


















