लगानी सम्मेलन जनतामुखी बनाउनु पर्ने आवश्यकता

109

– राज्यलक्ष्मी शाक्य

दुई तिहाइ बहुमतको वर्तमान सरकारको नेतृत्व गरिरहनुभएका केपी शर्मा ओलीले प्रधानमन्त्री भएदेखि देश विकासका लागि हरेक सभा–समारोहमा ‘सुखी नेपाली र समृद्ध नेपाल’ नाराको भाषण गर्दै आएका छन् । देश विकास र समृद्धिको दिशामा अघि बढाउन सरकारले विदेशी संस्थालाई आग्रह गर्दै लगानी सम्मेलन समेत गर्ने भएको छ । सरकारले यही चैत १४ र १५ गते लगानी सम्मेलन गर्ने भएको छ । देश–विदेशका लगानीकर्ताहरू नेपाल आउँदै छन् । अब चाहीँ देशमा समृद्धी आउछ भनेर आशा देखाउन थालिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको नाराले बल्ल सार्थकता पाउन लागेको भनिदैँ छ । तर विश्लेषकहरूले यो लगानी सम्मेलन सफल होला त भनेर प्रश्न गरेका छन् । देशमा लगानी–मैत्री वातावरण छ त ?

विवादै विवादले घेरिएको दुई तिहाइ बहुमतको सरकार र सरकारप्रति असन्तुष्ट रहेका जनताबाट आलोचित सरकारले गरेको लगानी जनतामुखी बनाउनु पर्ने आवश्यकता छ । लगानीका लागि नेपाल पुँजी, ज्ञान तथा प्रविधिमा आत्मनिर्भर नभएकोले विदेशी लगानी, पुँजी र ज्ञान स्वदेशमा भित्र्याउन आवश्यक छ, तर आवश्यकता हेरेर मात्र नहुने हुँदा लगानी गर्ने वातावरण सम्भव नहोला कि भन्ने धेरैको धारणा छ । देशमा हजारौं रोजगारी अनि नयाँ र खँदिला सीपहरू पनि भित्रिन सक्छन् , जसले आय बढाएर गरिबी घटाउने र जनताको आयस्तर बढाउनेतर्फ ध्यान दिनुपर्ने जरुरी देखिन्छ । तर एनसेल जस्ता राजश्वमारा लुटेरा विदेशी कम्पनीहरूको नेपालमा कुनै काम छैन भन्ने कुरामा सरकार सचेत बन्न जरुरी छ ।

सरकारले गर्न लागेको लगानी सम्मेलनका निम्ति उत्पादन, कृषि, जलविद्युत, पूर्वाधार, पर्यटनलगायत क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी आह्वानको तयारी गरेको छ । जनताको हितको लागि यस्ता लगानी गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराउन आवश्यक छ । तर वर्तमान सरकार जनतामैत्री हुन सकिरहेको छैन । सरकारले जनताको हितामा काम गर्न सकिरहेको छैन । लगानीको नाममा पनि जनतालाई शास्ती दिने काम भइरहेको छ । निजगढ विमानस्थल यसको उदाहरण हो । निजगढ विमानस्थलमा सरकारले लगानी गर्ने घोषणा त गरेको छ तर त्यहाँस्थित स्थानीय जनताको हितमा नभई बाहिरी उद्योगीहरू प्रति लक्षित भएर गर्ने सोच बनाएको स्पष्ट हुन्छ ।

सबैलाई थाहा भएको कुरा हो, मुलुकमा राजनीतिक तरंग चलिरहँदा आर्थिक पक्ष भने ओझेलमा परेको छ । राजनीतिक संक्रमणकालको चपेटामा नेपालको आर्थिक क्षेत्र परेको छ । नेताहरू सत्तामाथिको हानथापमा नै केन्द्रित देखिन्छन् । दुई तिहाई बहुमतको सरकारले गर्न चाहने हो भने जे सुकै पनि गर्न सक्दछ । त्यसैमा पनि जनताको जीवनस्तर माथि उठाउने सवालमा केन्द्रीत रहेर सरकारबाट कुनैपनि कार्यक्रमको थालनी हुन्छ भने त्यस्तो कार्यक्रमले जनताबाट स्वागत पाउने निश्चित हुन्छ । जनताबाट स्वागत पाउनु भनेको सरकारको समर्थनमा जनता आकर्षित हुनु नै हो । जनताबाट समर्थन पाउने सरकारले कसैबाट आलोचना सुन्नु पर्दैन । जनताको समर्थन रह्यो भने विपक्षी पार्टीको विरोधको पनि कुनै अर्थ रहँदैन । त्यसैले सरकारको काम, सरकारको योजना सबै जनतामा केन्द्रीत हुनु जरुरी हुन्छ । तर हाम्रो देशमा ठ्याक्कै उल्टो काम भइरहेको छ ।

सरकारले गनुपर्ने काम गरिरहेको छैन । दातृ राष्ट्रहरूले गरेको सहयोगको सदुपयोग भइरहेको छैन । विदेशी लगानीकर्ता कम्पनीहरू लूट मच्चाउनमै व्यस्त भइरहदा पनि सरकारले लगाम कस्न सकेको छैन । विकास र निर्माणका कामहरू अलपत्र अवस्थामा छन् । बजेट फ्रिज भएर बसेको छ । यी सबै गतिविधि हेर्दा लगानी सम्मेलन पनि ‘हात्ती आयो हात्ती आयो फुस्सा’ भनेजस्तै हुने सम्भावना बलियो छ ।-rajyalaxmishakya- जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here