प्राचीन अभिलेखको प्रदर्शनी

401

सुर्खेत / वीरेन्द्रनगरस्थित प्रदेश सङ्ग्रहालयमा सयौँवर्ष पुराना अभिलेख प्रदर्शनी गरिएको छ । अभिलेखको संरक्षण तथा व्यवस्थापनबारे स्थानीय र प्रदेश सरकारलाई जानकारी दिने उद्देश्यले राष्ट्रिय अभिलेखालयले प्रदर्शनी आयोजना गरेको हो ।
राष्ट्रिय अभिलेखालयका प्रमुख शौभाग्य प्राधानाङ्गले प्रदर्शनीका लागि सातौँ–आठौँ शताब्दीदेखि बीसौँ शताब्दीसम्मका विभिन्न भाषा, लिपिको प्रयोग गरी ज्योतिष, आयुर्वेद, योग, धर्मशास्त्र, पुराण, दर्शन, तन्त्र कर्मकाण्ड, साहित्य, व्याकरण, राजनीति र इतिहासँग सम्बन्धित ग्रन्थ राखिएको बताउनुभयो ।

उहाँका अनुसार ताडपत्र, भोजपत्र, नीलपत्रलगायतका अभिलेखसहित ३० हजार हस्तलिखित ग्रन्थका मूलप्रति, २० हजार अभिलेख, आठ हजार तिब्बती ग्रन्थ, एक लाख ८० हजार ग्रन्थका माइक्रोफिल्म प्रदर्शनीमा राखिएको छ । “अभिलेखालयसँग विश्वमै प्रसिद्धि कमाएका अमूल्य सम्पत्ति सुरक्षित छन्, थुपै्र प्रदर्शनीका लागि काठमाडौंबाट यहाँ ल्याएका छौँ”, अभिलेखालय प्रमुख प्राधानाङ्गले भन्नुभयो, “कतिपय थुप्रै ऐतिहासिक, पुरातात्विक महत्वका सम्पदा, ग्रन्थ गाउँगाउँमा छरिएका छन्, तिनलाई कसरी संरक्षण र प्रवद्र्धन गर्ने भन्ने विषयमा सरोकारवालालाई जिम्मेवारी बोध गराउन प्रदर्शनी आयोजना गरेका हौं ।”

प्रदर्शनीमा ब्रिटिस युद्धबारे लेखिएको पत्र पनि राखिएको छ । विसं १८७२ मा जीतमानसिंह बस्न्यातले जनरल भीमसेन थापालाई लेखेको पत्रमा पश्चिम क्षेत्रमा नेपाल र बेलायतबीच भएको युद्धबारे उल्लेख छ । विसं १३८० मा जयस्थिति मल्लका पालामा बनेको नेपालको पहिलो कानून, पृथ्वीनारायण शाहको जन्मकुण्डली, गोरखापत्रको पहिलो अङ्कलगायत प्रदर्शनीमा छन् ।  कर्णाली प्रदेश सरकारको व्यवस्थापनमा सञ्चालित अभिलेख महोत्सव तथा प्रदर्शनीको उद्घाटन बिहीबार प्रदेश प्रमुख दुर्गाकेशर खनालले गर्नुभएको थियो । महोत्सव अवलोकनका लागि सुर्खेतका साथै जुम्ला, सिञ्जा, दैलेख, दुल्लु, सल्यानलगायतका ऐतिहासिक स्थानबाट जनप्रतिनिधि र सर्वसाधारण आएका सङ्ग्रहालय प्रमुख शान्ति शर्माले जानकारी दिनुभयो । सङ्ग्रहालयले निःशुल्क प्रदर्शनीको व्यवस्था मिलाएको छ । शनिबारसम्म चल्ने प्रदर्शनीमा प्राचीन अभिलेखका साथै फोटो र पुस्तकसमेत अवलोकन गर्न सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here