वालिङ / गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय र वालिङ नगरपालिकाबीच बिहीबार …हाइवे ट्रमा घुम्ती अस्पताल’ सञ्चालनका लागि सम्झौता भएको छ ।
वालिङमा रहेको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ‘हाइवे ट्रमा घुम्ती अस्पताल’ को रुपमा विकास गर्ने गरी मन्त्रालयका तर्फबाट सचिव दीर्घनारायण पौडेल र नगरपालिकाका नगर प्रमुख दिलीपप्रताप खाँणबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । मन्त्रालयको आर्थिक सहयोग र नगरपालिकाको व्यवस्थापन एवं समन्वयमा रु ५७ लाखको लागतमा ‘हाइवे ट्रमाघुम्ती अस्पताल’ सञ्चालनमा आउने भएको हो ।
प्रदेश अन्तर्गतका मुख्य राजमार्गमा सडक दुर्घटनाको तत्काल उपचार सेवा प्रदान गर्न स्याङ्जा, तनहुँ र पर्वतका तीन अस्पताललाई ‘हाइवे ट्रमाघुम्ती अस्पताल’ का रुपमा विकसित गरिने भएको हो । सडक दुर्घटनाबाट हुने मृत्यु र अपाङ्गताको दरलाई न्यूनीकरण गर्ने, उद्धार समूह सञ्जाल तयार गर्ने, द्रुत सूचना एवं सञ्चारमार्फत उचित आकस्मिक उपचारको व्यवस्था गर्ने ‘हाइवे ट्रमाघुम्ती अस्पताल’ को उद्देश्य रहेको छ ।
अत्याधुनिक एम्बुलेन्स, सडक दुर्घटनामा परेकाको तत्काल उपचार गर्न एम्बुलेन्समै चिकित्सक एवं स्वास्थ्यकर्मी, औषधि तथा आवश्यक उपकरण एम्बुलेन्समा हुनुपर्ने छ । “सडक दुर्घटनामा परी स्वास्थ्य संस्थामा लैजाने क्रममा बाटोमै कतिपय घाइतेको मृत्यु हुने गरेको छ” नगर प्रमुख खाँणले भन्नुभयो, “घाइतेलाई छिटोभन्दा छिटो घटनास्थलमै उपचार गराइ मृत्युदर तथा अपाङ्गता हुने दरलाई न्यूनीकरण गर्न यसले मद्दत गर्छ ।”
वालिङमा उक्त अस्पताल सञ्चालनका लागि पूर्वाधार निर्माण थालिने वालिङ नगर प्रमुख खाँणले बताउनुभयो “सामाजिक विकास मन्त्रालयसँग भएको सम्झौता अनुसार आगामी एक–डेढ महीनाभित्र निर्माण कार्य सकेसँगै सञ्चालनमा आउने छ” उहाँले भन्नुभयो ।
गाउँपालिकालाई एम्बुलेन्स
अर्जुनचौपारी गाउँपालिकालाई एक दम्पतीले बिहीबार उपहारस्वरुप एम्बुलेन्स प्रदान गर्नुभएको छ । वडा नं २ केवरेमा जन्मिएर हाल जापानमा व्यवसाय सञ्चालन गर्दै आउनुभएका सुकबहादुर केसी र हीरा केसीले गाउँपालिकालाई एम्बुलेन्स प्रदान गर्नुभएको हो ।
भन्सार छुटमा बीमासहित उक्त एम्बुलेन्स गाउँपालिकासम्म ल्याइपु¥याउँदा झण्डै रु एघार लाख खर्च भएको एम्बुलेन्सदाता सुकबहादुरले बताउनुभयो । समाजसेवी दम्पतीले गाउँपालिकालाई प्रदान गर्नुभएको एम्बुलेन्सलाई गाउँपालिकाको स्वामित्वमा राखेर सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष दीर्घनारायण अर्यालले बताउनुभयो ।
एम्बुलेन्स सञ्चालनलाई दिगो बनाउन एम्बुलेन्समर्मत कोषको स्थापना गरी रकम जम्मा गर्दै लगिने अर्यालको भनाइ थियो । चौविस वर्षदेखि जापानमा व्यवसाय गदैआउनुभएका केसी दम्पतिले आफ्नो जन्मथलो घुम्ने क्रममा सवारी साधनको अभावमा बिरामीलाई समयमै अस्पतालसम्म पु¥याउन कठिनाइ भएको महशुस गरी एम्बुलेन्स सहयोग गरेको बताइएको छ ।

















