काठमाडौं / राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता हुने खेलस्थलको आज निरीक्षण तथा अवलोकन गर्नुभएको छ । उहाँले बाँकेको खजुरा क्षेत्रमा प्रतियोगिता आयोजना हुने खेलस्थलको निरीक्षणसँगै खजुरा गाउँपालिकाका जनप्रतिनिधिसँग छलफलसमेत गर्नुभएको छ ।
सो अवसरमा उहाँले खेलकूद प्रतियोगिता सफल बनाउन जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । “प्रतियोगिता हाम्रो पनि हो भनेर ग्रहण गरे मात्र सफल हुनेछ”, विष्टले भन्नुभयो, “प्रतियोगितालाई भव्य रुपमा सफल बनाउन जनप्रतिनिधिको ठूलो भूमिका हुन्छ ।” खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले देशभरका खेलाडीलाई स्वागत गर्न गाउँपालिका आतुर रहेको बताउनुभयो । “प्रतियोगितालाई हामीले अवसरका रुपमा लिएका छौँ”, उहाँले भन्नुभयो ।
प्रदेश नं ५ खेलकूद विकास समितिका अध्यक्ष भीम ओलीले प्रतियोगितालाई सफल बनाउन सहयोगी भूमिका खेल्न स्थानीयवासीसँग आग्रह गर्नुभयो । खजुरामा आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको भलिबल, हक्की र बक्सिङ खेल हुनेछ ।


















