नेपालमा प्राकृतिक विपत्ति कोष स्थापना गर्नु जरुरी

302

– निशा तामाङ

नेपाली जनताको दुर्भाग्य भनौं कि के भनौं प्राकृतिक विपत्तिको सबैभन्दा कष्टकर परिणाम नेपाली जनताले नै भोग्नु परिरहेको छ । भूकम्पले नेपालीलाई नै सताउने, बाढीले नेपालीलाई नै सताउने, आँधीहुरीले नेपालीलाई नै सताउने, बस दुर्घटना पनि नेपालीकै लागि दूर्भाग्य बन्ने, विमान दुर्घटना पनि नेपालकै आकासमा भइरहने । कस्तो दूर्भाग्य हो ? प्राकृतिक विपत्तिबाट नेपाली जनतालाई बचाउने जिम्मेवारी नेपाल सरकारको हो ।

प्रकृतिको परिवर्तन तथा मौसम परिवर्तनलाई कसैले रोकेर रोक्न सक्दैन । मौसम परिवर्तनबाट हुने गरेका घट्ना हामी सुनिरहेका हुन्छौं । भर्खरैमात्र कहालीलाग्दो बारा पर्सामा कहिल्यै नदेखिएको विपत्तिमा सबै मिलि राहत उद्दारका लागि सबैतिरबाट पहल भइरहेको छ । आइतबार बेलुका हावाहुरीबाट बारा, पर्सालगायतका जिल्लामा भएको ठूलो धनजनको क्षति भएको खबरले सबैलाई स्तब्ध बनाएकोे छ । प्रदेश नं २ को मन्त्रिपरिषद्ले गहिरो दुःख प्रकट गर्दै सोमबार बिहानै बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले मृतकका परिवारलाई रु तीन लाख तत्कालीन राहतस्वरूप प्रदान गर्ने निर्णय समेत गरेको छ । विभिन्न राजनीतिक दलका नेताहरू आफ्नो आफ्नो स्तरबाट यति रकम उती रकम दिने भन्दै सहयोग गरेको समाचार आइरहेको छ । यस्तैमा घाइतेका उपचारमा सरकारले सम्पूर्ण खर्च व्यहोर्ने भन्ने पनि सुनिएको छ । आइतबार राती बारा र पर्साका विभिन्न ठाउँमा असिनापानीसँगै आएको हावाहुरीबाट ३५ भन्दा बढीको मृत्यु भएको छ । कलैया, वीरगञ्जलगायतका अस्पतालमा ५०० भन्दा बढी घाइते भएको समाचार आइरहँदा यतिबेला देश शोकको घडिमा छ । उपचारका क्रममा थप केही घाइतेको समेत निधन भएका समाचार आइरहेका छन् । सुरक्षाकर्मी र स्थानीय उद्धारकर्मी यी पंक्ति लेख्न बसिरहदासम्म उद्धारमा खटिइरहेका छन् । घाइते केहीलाई रगत अभाव नहोस् भनि सेना लगायत सर्वसाधारणहरूले रक्तदान गरिरहेका छन् । जनस्तरबाट हुनुपर्ने मानवियता प्रशस्त प्रदर्शित भएको छ । यो विपत्तिमा सरकारका तर्फबाट राहतको प्याकेज आउन नसकेको गुनासो सर्वत्र सुन्न थालिएको छ ।

देशमा मौसम परिवर्तन हुनु र कहिले वर्षा त कहिले हावाहुरी आउनुकोे कारण जलवायू मण्डलमा भएको ठूलो परिवर्तनलाई बुझ्न सकिन्छ । जसको परिवर्तनले गर्दा मौसममा परिवर्तन भई वातावरणमा असर पुगेको स्पष्टै छ । भौगोलिक दृष्टिले हाम्रो देशमा मौसम परिवर्तन भए ठूलो क्षति पुग्ने गरेको पाइन्छ । वायुमण्डलमा परिवर्तनका कारण हुने गरेको प्रभावले मृत्यु हुने क्रम बढ्दै गएको पाइन्छ ।

वैैशाख–जेठमा गर्मीका कारण मर्नेको संख्या त्यत्ति नै मात्रामा बढ्ने गरेको पाइन्छ भने पुष–माघमा जाडोका कारण मृत्यु हुनेको संख्या पनि बढिरहेकै हुन्छ । अझ चिसो मौसमका कारण हिमाली जिल्ला सधैं प्रभावित बन्दै आइरहेको अवस्था छ । साउन–भदौमा वर्षातले गर्दा बाढीपहिरोको प्रभाव झेल्नु पर्ने हुन्छ । बाढिपहिरोका कारण धेरैको धनजनको क्षति हुने गरेको छ । गत साल मात्र बाढीपहिरोबाट तराईका धेरै बासिन्दा पीडित बनेका थिए । सबैको गााँस बास र कपास बाढीले बगाएर लगेको थियो । धेरैले यस्तै यस्तै प्राकृतिक विपत्तिका कारण समस्या भोग्नु परेको छ भने धेरैले ज्यान गुमाउन बाध्य भएका छन् ।

२०७२ सालमा गएको भूकम्पदेखि यता धेरै प्राकृतिक विपत्तिको सामना नेपालीहरूले गर्नुपरिरहेको छ । मौसम परिवर्तन हुँदै गइरहेको छ । यो निरन्तर परिवर्तन भइरहन्छ । तर जति जति बेला यस्तो प्राकृतिक प्रकोप घटेर जान्छ अनि हामी सहयोगको लागि हात फैलाउने गर्दछौं । सहयोग गर्न नसक्ने पनि होइन । सबैले आ–आफ्ना ठाउँबाट सहयोग गर्दै पनि आएको पाइन्छ । सहयोग गर्ने नाममा कति रकम हिनामिना भएको पनि पाइएको छ । यस्तो अवस्थाप्रति नियन्त्रण गर्ने निकाय सरकार नै हुनुपर्ने हो । तर सरकार बेखबर जस्तो भएर बस्ने परम्परा यसपटक पनि निरन्तरता रह्यो ।

विभिन्न राजनीतिक दलले यसरी राहत वितरण गर्ने तथा व्यक्ति व्यक्तिबाट संघ संस्थाबाट सहयोगका लागि हात फैलाउने गर्नुभन्दा पनि बेलैमा यस्ता प्राकृृतिक प्रकोपबाट रोकथामका उपाय अपनाउन जरुरी हुन्छ । प्राकृतिक प्रकोपबाट पीडितका लागि बेग्लै राहत कोषको व्यवस्था गरेको भए अहिले आपतको अवस्थामा पीडित जनता कसैले पनि हारगुहार गर्नुपर्ने अवस्था रहने थिएन । प्राकृतिक प्रकोपबाट जति नै विनाश भएतापनि जनता भोकभोकै मर्नुपर्ने र राहत वितरण कहिले हुन्छ र पाउला भनेर हात फैलाइ रहनुपर्ने अवस्था सृजना हुँदैनथ्यो ।

प्राकृतिक प्रकोप जुनबेला पनि आउन सक्छ भन्ने हेक्का राखी जनता जति बेला पनि अफ्ठ्यारोमा पर्न सक्छन् र उनीहरूलाई यस्ता प्रकोपबाट चाडो भन्दा चाडो राहत प्रदान गर्न जरुरी छ भनेर यथासिघ्र राहत वितरण गर्ने नीति कार्यान्वयनमा ल्याउन आवश्यक छ । जसले गर्दा पीडित जनताले सहज रूपमा राहत प्राप्त गर्न सकुन् । कसैको अगाडि निरिह बन्न नपरोस् आफ्नो गाँस वास र कपास सबै प्राकृतिक प्रकोपले विनाश गर्दा पनि सरकारले हामीलाई सुरक्षा दिएको छ, हामी सुरक्षित छौं भन्ने अनुभूति जनताले गर्न पाउन् ! सरकारको ध्यान यसतर्फ पुग्नु जरुरी छ ।[email protected]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here