काठमाडौं / आठौं राष्ट्रिय खेलकुदअन्तर्गत ट्रायथलन र प्याराग्लाइडिङ खेल गण्डकी प्रदेशमा हुने पक्का भएको छ ।
प्रदेश ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदका ट्रायथलन र प्याराग्लाइडिङ पोखरामा हुने भएपछि गण्डकी प्रदेश पनि आठौं राष्ट्रिय खेलकुदमा जोडिएको हो । पूर्वाधारका अभाव भएकाले प्याराग्लाइडिङ र ट्रायथलन खेल पोखरामा हुने निश्चित भएको हो । नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले नेपालगञ्जमा हुने भनिएको ट्रायथलन पोखरामा सारिएको जानकारी दिनु भयो ।
ट्रायथलन यही चैत ३० गते हुनेछ । ‘हामीले प्रदेश ५ को परेवा तालमा ट्रायथलन आयोजना गर्ने भनेका थियौं तर विविध कारणले त्यहाँ खेल आयोजना गर्न नसकेपछि पोखरामा सारेको हो’, अध्यक्ष श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा ट्रायथलन, दुआथलन र मिक्स टिम रिले गरी तीनवटा इभेन्ट्स रहेका छन् । जसमा ट्रायथलनको स्प्रिन्टमा साइक्लिङ २० किलोमिटर, स्वीमिङ ७५० मिटर र ५ किलोमिटरको दौड हुने भएको छ ।
दुआथलन स्प्रिन्टमा ५ किलोमिटर दौड, २० किलोमिटर साइक्लिङ, २।५ किलोमिटरको दौड हुनेछ । मिक्स डबल्समा २र२ जना महिला र २र२ जना पुरुषको टिमले प्रतिष्पर्धा गर्नेछन । यही चैत ३० गते हुने आठौं राष्ट्रिय खेलकुदअन्गर्त ट्राइथलनमा कुल ४७ जना खेलाडीको सहभागिता रहनेछ ।

















