लुटेराहरु संरक्षित हुने देश बन्दैछ नेपाल

212

– निमकान्त पाण्डे

प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो समय मुखमा झुण्डिएको र बारम्बार उच्चारणमा आउने एउटा शब्द हो ‘सुखी नेपाली समृद्ध नेपाल’ । एउटा महत्वपूर्ण र महत्वकांक्षी अभियान बोकेर सरकारको नेतृत्व गरेका ओलीका अघिपछि भने उनको अभियानलाई गलत बाटोमा धकेल्ने समूह सक्रिय हुँदै गइरहेको पुष्टि भएको छ । मुलुकको समृद्धिका लागि सरकार प्रमुख चिन्तित हुनु सकारात्मक पक्ष हो, त्यसैले प्रधानमन्त्रीले अघि सारेको यो अभियान आफैमा निकै महत्वपूर्ण मान्नुपर्दछ । तर यसको कार्यान्वयनको अवस्थाले मात्र उनले अघि सारेको महत्वकांक्षी अभियानलाई जनताले पछ्याउन सक्छन् । प्रधानमन्त्री ओलीको हकमा उनले अभियानको घोषणा गरे पनि त्यसको कार्यान्वयनको पक्ष भने निकै फितलो देखिदै आएको देखिन्छ । कतिसम्म भने प्रधानमन्त्री ओलीले विकास र समृद्धिको वकालत गर्दै भ्रटाचार विरुद्ध कडा ढंगले प्रस्तुत भइरहँदा प्रधानमन्त्री निवास रहेको बालुवाटारको जग्गासमेत माफियाले व्यक्तिको नाममा बनाएको समाचार सार्वजनिक भइरहेको अवस्थाले प्रधानमन्त्रीको समृद्ध नेपालको सपना ठट्टा जस्तै बन्न पुगेको छ । यो स्थितिले लुटेराहरु संरक्षित हुने देश बन्दैछ नेपाल ।

त्यसरी व्यक्तिका नाममा जग्गा गराउनेमा प्रधानमन्त्रीकै विश्वासिला व्यक्ति मात्रै नभएर पार्टीका महासचिवसमेत रहेका विष्णु पौडेलको नाम समेत जोडिएको छ । उज्यालो अभियन्ताका रूपमा चर्चित कुलमान घिसिङसमेत पछिल्लो समय विद्युत महसुल उठाउने विषयमा विवादमा तानिएका विषय सार्वजनिक भएका छन् । ठूला व्यापारिक घरानाबाट उठाउनुपर्ने करोडौँ, अरबौँ रकम उठाउने विषयमा घिसिङले चासो नदिएको भन्दै उनको आलोचना सुरु भएको छ । मुलुकलाई १८ घण्टासम्म लोडसेडिङ गराउन भूमिका खेल्ने ठूला व्यापारिक घरानालाई कारबाहीको दायरामा ल्याउनुको सट्टा तिनुपर्ने रकम समेत तिराउन नखोज्नुले उनको भूमिकामाथि पनि प्रश्न उठेको छ । यो पक्ष प्रधानमन्त्री ओलीको नेपाल समृद्ध बनाउने अभियानलाई ठूलो धक्का साबित हुनेछ । ठूला घरानाबाट उठाउन बाँकी रहेको विद्युत महसुल अर्बाै रूपैयाँ अब कसरी असुल्न सकिन्छ ?

प्रधानमन्त्री ओलीले सुशासनको कुरा गरिरहँदा उनकै अघी पछि घुम्नेहरू भने भ्रष्टाचार, अनियमितता र दलालीमा सक्रिय हुँदै आएका छन् । यसमा भने ओलीले मौनता देखाउँदै आइरहेको पाइन्छ । सुशासन, समृद्धि र विकास एउटा व्यक्तिको मात्र प्रयासले सम्भव हुने विषय होइन । यसका लागि एउटा व्यक्तिले पहलकदमी लिनुपर्छ, तर यसमा सबै पक्षको साथ र सहयोग चाहिन्छ । प्रधानमन्त्री ओलीको हकमा भने उनले अघि सारेको अभियानलाई उनी आफैले पनि राम्रोसँग पहलकदमी लिएको पाइदैन । हरेक कार्यक्रममा केही न केही नयाँ योजनाबारे बोलिहाल्ने तर त्यसको कार्यान्वयनलाई ध्यानै नदिने प्रवृत्ति प्रधानमन्त्री ओलीमा देखिदै आएको छ । उनले सुरु गरेको समृद्ध नेपाल सुखी नेपालीको अभियानको अवस्था पनि त्यस्तै देखिन्छ । त्यसमाथि उनकै किचन क्याबिनेटमा रहेका व्यक्तिमा देखिएको लोभ, लालच, र मुलुक भन्दा व्यक्तिगत आकांक्षा बढी देखिएकाले उनको यो अभियानलाई उनकै आसपासबाट चुनौती देखिएको पुष्टि हुन्छ ।

यदि प्रधानमन्त्री ओलीमा साच्चिकै मुलुक र जनताप्रति अलिकति पनि चिन्ता र जिम्मेवारीबोध छ भने उनले गलत काम गर्ने जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउन सक्नुपर्छ । उनले गलत काम गर्ने आफू निकटका व्यक्तिलाई संरक्षण गर्दै जाने र सुशासनको कुरा पनि गर्दै जाने हो भने यो उनकै लागि प्रत्युत्पादक हुने निश्चित छ । नेपालीमा एउटा चर्चित भनाई छ, ‘मुखमा रामाराम बगलीमा छुरा’ ओलीको हकमा पनि यो कुुरा लागु हुन्छ । उनले सिद्वान्ततः निकै राम्रा कुरा गर्ने गरेका छन् । तर व्यवहारमा उनकै आसपासका मान्छेहरूबाटै सुशासनको खिल्ली उडाउने काम गर्नुले मुलुक समृद्धिको बाटोमा अघी बढ्छ भन्नु हास्यास्पद मात्र हुन जान्छ ।

कतिपय कुरा प्रधानमन्त्री स्वयम्लाई पनि जानकारी नहुन सक्छ, त्यसैले सबैकुरा प्रधानमन्त्रीले जान्नै पर्छ भन्ने कुरा होइन, तर पछिल्ला समय कतिपय उनका नजिक र सारथी भनिएकाहरूबाटै गलत काम भइरहँदा पनि उनी मौन बस्नुले प्रश्न उनीमाथि पनि तेर्सिन्छ । त्यसैले यसप्रति प्रधानमन्त्री ओली गम्भीर हुन आवश्यक छ । समृद्धिको यात्रा बोलेजस्तो सजिलो हुँदैन । त्यो कुरालाई उनले कामबाट पुष्टि गर्न आवश्यक छ । कम्युनिष्ट पार्टीको नेताको हैसियतमा सत्तामा पुगेपछि त्यसअनुरूपको चरित्र व्यवहार आवश्यक हुन्छ । अन्यथा जनताप्रति गद्दारी गरेको पनि आरोप लाग्न सक्नेछ । आगे चेतनाभया ! – जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here