सुडानमा नयाँ सैन्य परिषद्ले लगाएको कर्फ्यूको अवज्ञा गर्दै हजारौँ प्रदर्शनकारी राजधानी खार्तुमको सडकमा बसिरहेका छन्।
लामो समय सत्तामा रहेका राष्ट्रपति ओमार अल-बशीरलाई महिनौँदेखिको सडक प्रदर्शनपछि पदच्युत गरी बिहीवार पक्राउ गरिएको थियो।
तर प्रदर्शनकारीहरूले सैन्य परिषद् उक्त सत्ताको हिस्सा रहेको जनाएका छन्।
पछिल्लो उल्लङ्घनले प्रदर्शनकारी र सेनाबीच हिंसात्मक मुठभेड हुनसक्ने आशङ्काहरू जन्माएको छ।
खतरा
बीबीसी विश्व सेवाका अफ्रिका सम्पादक विल रोस भन्छन्, सुरक्षा फौजका विभिन्न निकाय र मिलिसियाले नै आफ्ना बन्दुक एकअर्कातर्फ तेर्स्याउलान् भन्ने चाहिँ साँच्चैको खतरा हो।
संयुक्त राष्ट्रसङ्घ र अफ्रिकी सङ्घ दुवैले संयमित हुन आह्वान गरेका छन्।
७५ वर्षीया बशीर पक्राउ परेको समाचारको खुसियाली धेरै बेर टिक्न सकेन जब प्रदर्शनका आयोजकले सैन्य मुख्यालयबाहिरको धर्ना जारी राख्न आह्वान गरे। ‘यो त्यही शासनको निरन्तरता हो,’ ‘सुडानिज प्रोफेसनलस् एशोसियशनका सारा अब्देल जलिलले भने। ‘
‘त्यसैले अब हामीले के गर्नुपर्छ भने शान्तिपूर्ण प्रतिरोध र लडाइँलाई जारी राख्नुपर्छ।’
सरकारी सञ्चारमाध्यमले देखाएको एउटा आधिकारिक विज्ञप्तिमा कर्फ्यू स्थानीय समय अनुसार राति १० बजेदेखि बिहान ४ बजेसम्म लागु हुनेछ। बिबिसी

















