काठमाडौं / नयाँ वर्ष २०७६ को अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै सुख, शान्ति र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरेका छन्।
प्रदेश नं १ : प्रदेश नं १ का मुख्यमन्त्री राईले जारी गरेको शुभकामना सन्देशमा भनेका छन्, ‘नयाँ वर्षको आगमनसँगै मुलुकमा शान्ति, स्थिरता, सुशासनका साथै समद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्ने स्पष्ट गन्तव्यतर्फ अगाडि बढिरहेको हुँदा हामी सबैका लागि यो वर्ष सुखद् र उपलब्धिमूलक बन्न सक्ने छ।’
प्रदेश ३ : प्रदेश ३ का मुख्यमन्त्री पौडेलले शुभकामना सन्देशमार्फत समृद्ध प्रदेश निर्माणमा प्रतिवद्ध रहेको जनाएका छन्। ‘प्रदेश सरकार प्रदेश भित्रका राजनीतिक, मानवीय, भौतिक, आर्थिक, सामाजिक, सांस्कृतिक स्रोतसाधनको पहिचान र उपयुक्त तरिकाले परिचालन गरी लक्षित दीर्घकालीन सोच ‘स्वस्थ सुसंस्कृत र सुखी जनता, समाजवाद उन्मुख समृद्ध प्रदेश निर्माणमा प्रतिवद्ध रहेको व्यहोरा अनुरोध गर्दछु’, मुख्यमन्त्री पौडेलले सन्देशमा भनेका छन्।
यसका लागि प्रदेशवासी नागरिकहरुको सकारात्मक सोच र रचनात्मक सहयोग, उत्साहजनक सहभागिता र स्वस्थ आलोचनाको अपेक्षा गरेको छु सन्देशमा उल्लेख छ।
गण्डकी प्रदेश :गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले प्रदेश सरकारका लागि २०७५ साल विभिन्न चुनौतीका बाबजुद विकास र समृद्धिका लागि जग निर्माणको महत्वपूर्ण वर्षका रूपमा व्यतित भएको र कानूनी र संरचनागत जग बलियो र मजबुत भएकाले समृद्धिका धेरै महत्वपूर्ण इँटाहरु थप्न नयाँ वर्ष २०७६ मा सफल हुनेछौँ भन्ने प्रतिबद्धता व्यक्त गरेका छन्।


















