सामाजिक सञ्जाल प्रतिबन्ध ! श्रीलंकामा निरन्तर विस्फोट पछि कर्फ्यू आदेश जारी

226

काठमाडौं- आज बिहानैदेखि भएको श्रृङ्खलाबद्ध विस्फोटका कारण श्रीलंका सरकारले कोलम्बो सहित देशका विभिन्न स्थानहरुमा कर्फ्यू आदेश जारी गरेको छ । श्रृङ्खलाबद्ध विस्फोटका कारण ठूलो संख्यामा नागरिकहरुको हताहती भएपछि श्रीलंका सरकारले कर्फ्यू आदेश जारी गरेको हो ।

कर्फ्यू साँझ ६ बजेदेखि बिहान ६ बजेसम्मको लागि लगाइएको छ । साथैं सरकारले सामाजिक सञ्जालमा पनि तत्कालको लागि प्रतिबन्ध लगाएको छ । सामाजिक सञ्जालमार्फत् अफवाह फैलिन सक्ने भन्दै अर्को निर्णय नभएसम्मको लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको श्रीलंकाका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

श्रीलंकाको राजधानी कोलम्बो तनावग्रस्त बनेको छ । लगातार ६ पटकसम्म भएको विस्फोट पछि शान्त हुने अपेक्षा राखिएपनि दिउँसो फेरि अर्को हमला भएको छ । सातौं हमलासम्म एक सय ८० भन्दा बढी मानिसहरुको ज्यान गईसकेको छ भने ५ सय भन्दा बढी घाईते भएको मिडिया रिपोर्टमा उल्लेख छ । केही बेर अघि मात्रै कोलम्बोमै आठौं बम विस्फोट भएको थियो

यस अघि छैठौं विस्फोटसम्म श्रीलंकाका प्रधानमन्त्री रानिल विक्रमासिंहेले एक वक्तव्य जारी गर्दै करिब १ सय जनाको ज्यान गएको र ३ सयभन्दा बढी घाईते भएको उल्लेख गरेका थिए । उनले विज्ञप्ती जारी गरेपछि फेरि आतंककारी हमला भएको हो ।

सातौं बम विस्फोट पछि ज्यान जानेको संख्या १८० नाघेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here