काठमाडौ, श्रीलंकामा आइतबार भएका श्रृंखलावद्ध बम हमलाप्रति नेपालले निन्दा गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार श्रीलंकाली समकक्षी मैत्रीपाल श्रीसेना तथा रनिल बिक्रमसिंगेलाई छुट्टा छुट्टै शोक सन्देश पठाउँदै घटनाको कडा निन्दा गरेका छन् । श्रीलंकामा भएको मानवता विरोधी अपराधको भत्र्सना गर्दै राष्ट्रपति तथा प्रधानमन्त्रीले नेपाल सबै किसिमका आतंकवादी घटनाको विरुद्धमा रहेको जनाएका छन् । राष्ट्रपति तथा प्रधानमन्त्रीले श्रीलंकाली समकक्षी र शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै शोकको घडीमा नेपाल श्रीलंकाली जनताको पक्षमा रहेको जनाएका छन् । प्रधानमन्त्री ओलीले श्रीलंकाका प्रधानमन्त्री रनिल बिक्रमसिंगेलाई टेलिफोन गरी घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
इशाई धर्मालम्बिहरु इस्टर सन्डेमा प्राथना गर्न जुटिरहेका बेला तीन रोमन क्याथोलिक चर्च तथा पाँच तारे होटललाई लक्षित गर्दै आधा दर्जन भन्दा बढी बम हमला गरिएको थियो । हमलामा परी ३५ विदेशी सहित झण्डै दुई सय भन्दा बढीको मृत्यु भएको र करिब पाँच सय भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

















