कांग्रेसका लागि प्रतिपक्षीय भूमिकाको प्रशिक्षण नपुगेकै हो त ?

170

-चन्द्रप्रकाश बानियाँ

नेपाली कांग्रेसले प्रतिपक्षको भूमिका राम्रोसँग निर्वाह गर्न नसक्नाले सरकार वेलगाम भयो भन्ने गुनासो समाजको एउटा कोणबाट उठ्ने गरेको छ । त्यही सन्दर्भमा नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सेरबहादुर देउवाले विराटनगरतिर कतै पुगेर एउटा अनौठो गुनासो गरेछन् । ‘चुनावमा कम्युनिष्टको बाकसमा भोट खन्याउने, अनि प्रतिपक्षले प्रभावकारी भूमिका निर्वाह गरेन भन्ने ? सशक्त भूमिका निर्वाह गर्नका लागि त नेपाली काँग्रेसलाई बलियो बनाउनुपथ्र्यो’ भन्ने उनको जिकिर रहेछ । हो, वर्तमान सरकार जनपक्षीय हुन सकेन भन्ने नेपाली समाजलाई लागेको छ । बलियो र स्थीर सरकारले जसरी काम गर्नुपथ्र्यो त्यसरी गरेन वा गर्न सकेन भनेर गुनासो गर्न थालेकै छ । जनमतबाट बनेको सरकारले मत्तासाँढेले जस्तो व्यवहार देखाउन थालेको छ । अर्थात देश र जनता बिर्सेर उन्मुक्त हिड्न थालेको छ । सत्ताले जनता बिस्र्यो, कबुल बिस्र्यों, कर्तव्य बिस्र्यो अनि आफूले टेकेर उभिएको धर्र्ती (जनमत) बिस्र्यो भन्ने जनताको प्रथम गुनासो हो । मनखुसी हिड्नका लागि जनताबाट पाँचबर्षे वरदान पाएको भ्रममा सरकार रहेको देखिन्छ । जनता विचरा भष्मासुरलाई मनचिन्ते वरदिने गल्ती गरेर पछुताएका महादेवको हालतमा पुगेका छन् । सरकारलाई दण्डदिने अवसर चार बर्षपछि मात्र आउँछ । यस्तै चाला निरन्तर रहने हो भने यो सरकारले सुमर्ने बाँकी चारबर्षको अवधि जनताका लागि चारदशक जीत्तकै लामो र पट्टयारलाग्दो बन्ने निश्चित छ । त्यही कारणले जनताले यतिखेर प्रतिपक्षतिर आशामुखी नजर फिराएका हुन् । प्रतिपक्षको सशक्त भूमिका हुने हो भने गलत निर्णय लिनबाट सत्तापक्ष हच्कन्छ र निरकुंश हुनबाट सत्तालाई नियन्त्रण गर्ने काम प्रतिपक्षको हो भन्ने कुरा जनताले पनि बुझेको छ । त्यसैले कांग्रेसबाट केही उपाय लागिहाल्छ कि भनेर जनताले निवेदन हालेका हुन् । आफै आन्तरिक रागले चाउरिएको काँग्रेस (मरिच) विचरा ‘मनको वह कसैसँग न कह’ भन्ने अवस्थामा पुगेको छ । सेरबहादुरको झर्को फर्कोको असली कारण पनि त्यही हुनुपर्छ ।

मुलुकको जेठो प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेको होनहार नेता देउवाजीमा लोकतान्त्रिक सिद्धान्तको ज्ञानभण्डार त होला तर अभ्यास भने छैन । नेपाली जनताले पछिल्लो आम निर्वाचनमार्फत सत्ता कम्युनिष्टको हातमा सुम्पिएर प्रतिपक्षको जिम्मेवारी काँग्रेसलाई थमाएका हुन् । सत्तामातले सरकार कर्तव्य बिर्सने अवस्थामा पुग्छ । काँग्रेस पनि हिजो त्यही बाटो हिँडेकै हो । त्यो रोगबाट कम्युनिष्ट सरकार मुक्त हुननसक्नु दुर्भाग्यपूर्ण विडम्बना भए पनि आश्चर्य मान्नुपर्ने विषय भने होइन । सत्ताले कर्तव्य बिर्से पनि काँग्रेसले नबिर्सिदिए हुन्थ्यो भन्ने जनताको आशय हो । राजनीतिक दलहरूले निर्वाचनपछि जनताले बोकाएको उत्तरदायित्व बिर्सनु दुर्भाग्य हो । सत्ताले बिर्से पनि काँग्रेसले आफ्नो कर्तव्य नबिर्सोस् र प्रतिपक्षको सबल भूमिका प्रदर्शन गरोस् भन्ने जनताको अपेक्षा हो । त्यसो गर्नसक्दा जनताको विश्वास काँग्रेसले पुनः आर्जन गर्न सक्दथ्यो । काँग्रेसलाई सत्ताको गद्दीमा चढाउने भ¥याङ् सबल र संयत प्रतीपक्षीय भुमिका नै हो । सत्ता र प्रतिपक्ष दुबैलाई आ–आफ्नो कर्तव्य पुनस्मरण गराउने प्रयत्न गर्ने मात्रै होइन, आफ्नो भूमिका कसले कति कुशलतापूर्वक निर्वाह गर्छ भन्ने कुराको मूल्याङ्कन जनताले गरेको हुन्छ । पार्टीसंगठनको सदृढिकरण मात्र प्रतिपक्षको काम होइन । जनताको सुखदुःखसँग जोडिएका विषयहरू उठाएर सरकारसँग भिडिनु प्रतिपक्षको मूख्य कर्तव्य हो । जनताको विश्वास पुनआर्जनको एकमात्र साधन त्यही हो । जनतासँग सदाकाल एकाकार र घुलमिल हुनुपर्छ भन्नुको मतलब सरकारलाई मत्ताहात्ति झै फुक्काफाल छोडिदिएर आलापविलाप गर्दै जनताको घरदैलो ठटाउन पुग्नुपर्छ भेनको होइन ।

प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले देउवाजीले बिर्सन नहुने कुरा के हो भने जनताको विश्वासमा ह्रास आएकै कारणले निर्वाचनमा उनको पार्टी पराजित भएको हो । निर्वाचनमा पराजित भएकैले ‘प्रतिपक्ष’ को भूमिका उनलाई प्राप्त भएको हो । प्रतिपक्षको गहन भूमिका निर्वाह गर्ने अवसर प्रदान गरेको पराजयले नै हो । जनताको विश्वास प्राप्त भैदिएका भए अर्थात जनताले उर्लेर काँग्रेसको पक्षमा मतदान गरेका भए देउवजी सत्तामै हुन्थे । सत्तामा हुनेले प्रतिपक्षको भूमिका निभाउने कुरै भएन । प्रतिपक्षमा स्थापित गरिएका हुनाले अर्थात जनताबाट त्यही भुमिमा नियुक्त गरिएका हुनाले हैसियतअनुसारको कर्तव्य निर्वाह होस् भन्ने अपेक्षा जनताले राखेका हुन । कँग्रेसलाई सत्ताको साँचो सुम्पिएको जनताले उसैलाई प्रतिपक्षको भूमिका सबल बनाउने सल्लाह दिदैनथ्यो ।

काँग्रेसले आफूलाई साह्रै कमजोर र निरीह ठानेको रहेछ भन्ने कुरा देउवाको कथनबाट खुलासा भएको छ । त्यसको अर्थ प्रतिपक्षको आदर्श हैसियत के हो ? अर्थात कति प्रतिशत मत प्राप्तगर्दा अथवा संसदमा कति सिट जित्दा प्रतिपक्ष बलियो हुने हो त भन्ने प्रश्न उठ्छ । भारतमा जस्तो प्रमुख प्रतिपक्षको संवैधानिक मान्यता प्राप्तगर्न न्युूनतम १० प्रतिशत सिट जित्नैपर्ने वैधानिक व्यवस्था हाम्रो संविधानले गरेको छैन । सदनको दोश्रो ठूलो दलले स्वतः प्रमुख प्रतिपक्षको मान्यता पाउँछ । प्रतिपक्षको संसदीय भूमिका सबल र सशक्त बनाउन ‘जनबल’ को आवश्यकता पर्दैन । अर्थात कुनै जमानामा तत्कालीन एमाले वा माओवादीका सभासदहरूले जस्तो सभाभवनका सिट र माइकहरू भाच्नुपर्दैन । नत मन्त्रीहरूलाई लछारपछार र हातपात नै गर्नुपर्छ । संसदको लडाई बाहुबलबाट होइन शब्दबाट लडिने हो । शाब्दिक लडाई हुने भएकैले कम्युनिष्टहरूले संसदलाई ‘बुर्जुवाहरूको गफगर्ने थलो’ भनेर नामाकरण गरेका हुन् । संसदीय अभ्यासमा बहुमतले सरकार निर्माण गर्दछ । बहुमतले स्वाभाविक दम्भ सिर्जना गर्दछ । बहुमतकै आधारमा निर्णयहरू गर्दछ । त्यसको परिणाम कार्यान्वयनमा देखिने हो । हो, त्यसैले प्रतिपक्षले सरकारी प्रस्ताव र निर्णयको गुणदोष केलाउने, सरकारलाई सचेत बनाउने र संसदसमक्ष विकल्प प्रस्तुत गर्ने हो । प्रतिपक्षको त्यही भूमिकाको आधारमा जनताले मूल्याङ्कन गरिरहेको हुन्छ । कुन विषयमा प्रतिपक्षको मत कस्तो थियो र परिणाम कस्तो आयो भन्ने कुराले जनमत निर्माण गर्ने हो । संसदमा सबल भूमिका निर्वाह गर्न सत्तापक्षकै हाराहारीमा सांसदसंख्या चाहिन्छ भन्ने कुरा व्यवहारिक तर्क हो भन्न मिल्दैन । वर्तमान सरकारसँग दुईतीहाईको बहुमत छ । उसको हाराहारीमा पुग्नका लागि प्रतिपक्षसँग पनि कमसेकम संसदको बहुमत चाहियो । त्यस्तो त हुनै सक्तैन । वर्तमान सरकारसँग दुईतीहाई बहुमत रहेको भएपनि काँग्रेसको वर्तमान संसदीय आकारलाई सानो भन्न मिल्दैन ।

संसदमा लडिने लडाई वैचारिक हो, मुढेबलको युद्ध होइन । संसद भनेको पहलमानी देखाउने अखाडा होइन । महाभारतयुद्धमा जस्तो एघार अक्षौहिणी कौरव सेनासँग लड्न पाण्डपक्षलाई पनि कमसेकम आधाभन्दा भन्दा बढी अर्थात सात अक्षेौहिणी सेना चाहिन्छ भन्ने उदाहारणले संसदीय राजनीतिमा काम गर्दैन । प्रतिपक्ष सानो होस् कि ठूलो, उसको विचार प्रस्तुतिले जनमत सिर्जना गर्छ । सत्तालाई कैयौं गलत निर्णय लिनबाट रोक्न सक्छ । कैयौ अवस्थामा अल्पमतसमक्ष बहुमत झुक्नुपर्ने वाध्यता सिर्जना हुन्छ । सत्तालाई पथविचलित हुनबाट रोक्ने प्रतिपक्षले नै हो । निरङ्कुशतातिरका सत्ताका कदम रोक्ने दायित्व उसैको हो । सच्चिन वाध्यपार्ने तागत प्रतिपक्षसँग हुनुपर्छ । त्यस्तो ताकग बाहुबलमा होइन, नैतिकतामा आधारित हुन्छ । जनताको साथ र देशहितको भावनाले प्रतिपक्षलाई अदम्य नैतिक बल प्रदान गर्दछ । प्रतिपक्षको हतियार नै त्यही हो । त्यो हतियार चलाउन सुसज्जित सेनाको आवश्यकता पर्दैन । विचारप्रशिक्षित सेनाको बल संख्यामा आक्न मिल्दैन ।

पञ्चायतकालमा बहुदलवादी शक्तिहरूलार्ई अराष्ट्रिय तत्व र मुठ्ठीभर विदेशी दलाल भनेर दुत्कारिन्थ्यो । आखिर त्यही मुठ्ठीभर शक्तिबाट व्यवस्थाले धोवीपाट खायो । तत्कालीन सत्ताले माओवादी आन्दोलनलाई मुठ्ठीभर दिग्भ्रमित युवाहरूको सनक ठान्थ्यो र हत्केलामा राखेर मसल्न सकिने भुसुना ठान्थ्यो । परिणाममा उसैले राजाको गद्दीसमेत लडायो । यतिखेर काँग्रेसका निमित्त अत्यन्त अुनकूल परिस्थिति छ । उतिखेर जनता अहिलेजस्तो सचेत थिएन । सत्ताको झुटो दावा र आश्वासन पत्याउँथ्यो । विद्रोहलाई साथ दिन डराउँथ्यो । अब परिस्थिति बदलिएको छ । काँग्रेसले जनता जगाउने होइन, काँग्रेसलाई जनताले राजनीति सिकाउने अवस्थामा छ । अघि बढ, साथमा जनता छ, भनेर काँग्रेसको पीठ जनताले ठोकिरहेका छन् । अर्थात नेपाली जनमतले सत्तालाई तह लगाउने शक्तिको होइन, सेनापतिको खोजी गरिरहेका छन् । आफ्नो सामु उपस्थिति रहेको यस्तो सुन्दर अवसर देउवाजीका नजरमा परेको देखिदैन । र मृगमरिचकाको खोजीमा आँखामा पट्टी बाँधेर कुदिरहेका छन् । जनताले हस्तिनापुरको राज्य थमाउन खोज्दा पाण्डवका पाँच गाउँको माग गर्ने मूर्खता गर्दैछन् । अर्थात अर्को पटक सत्ता लिने गरी प्रतिपक्षको भूमिक सबल बनाउ भनेर जनताले पीठ ठोकिरहँदा देउवाजी भने अर्को निर्वाचनमा प्रतिपक्षको भूमिका शसक्त बनाउन मनग्य पुग्नेगरी संसदीय सिटहरू बढाइदेउ भन्दै छन् । माल पाएर के गर्नु चाल पाएको काम लाग्छ ?!-जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here