कक्षा १२ र ११ को परीक्षाको तयारी पूरा, नौ लाख ३६ हजार परीक्षार्थी

84

भक्तपुर- राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ र कक्षा १२ को वार्षिक परीक्षाको तयारी पूरा भएको जनाएको छ । देशभर एक साथ आगामी आइतबारदेखि हुने कक्षा १२ र वैशाख २९ गतेदेखि हुने कक्षा ११ को परीक्षाको तयारी पूरा गरेको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

कक्षा १२ को परीक्षामा चार लाख २८ हजार ५२ र कक्षा ११ को परीक्षामा पाँच लाख आठ हजार ४ सय ९४ परीक्षार्थी गरी कूल नौ लाख ३६ हजार ५ सय ४६ परीक्षार्थी सहभागी हुने भएका छन् । परीक्षामा चार लाख ४२ हजार, ९ सय ९७ छात्र र चार लाख, ९३ हजार ५ सय ४९ छात्राको सहभागस्ती हुने शर्माले जानकारी दिए । आगामी २६ गते सम्पन्न हुने कक्षा १२ को परीक्षातर्फ साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीको सहभागिता रहनेछ । यसैगरी वैशाख २९ गते सुरु भई जेठ ८ गते सम्पन्न हुने कक्षा ११ को परीक्षामा साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीको सहभागिता रहनेछ ।

सबैभन्दा कम मनाङ जिल्लाबाट कक्षा ११ को परीक्षामा ५१ र कक्षा १२ मा ५९ तथा सबैभन्दा धेरै काठमाडौं जिल्लाबाट कक्षा ११ मा ७१ हजार ५ सय २७ र कक्षा १२ मा ६२ हजार ५ सय ८८ परीक्षार्थी सहभागी हुँदैछन् । बोर्डले परीक्षाका लागि देशभर एक हजार एक सय ७ परीक्षा केन्द्र निर्धारण गरेको छ । जसमा सबभन्दा बढी परीक्षा केन्द्र काठमाडौंमा १ सय २२ वटा र सबैभन्दा कम मनाङ-मुस्ताङमा एक-एक परीक्षा केन्द्र निर्धारण गरेको बोर्डका सदस्यसचिव दुर्गा अर्यालले जानकारी दिए ।

परीक्षामा कम श्रवणशक्ति भएका, दृष्टिविहीन वा सुस्त मनस्थिति वा अन्य प्रकृतिको अपाङ्गता भएका परीक्षार्थीका लागि परीक्षामा विशेष व्यवस्था गरिएको छ । कारागार वा बालसुधार गृहमा रहेका परीक्षार्थीलाई पनि परीक्षा दिने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

गत चैतमा सम्पन्न एसइई परीक्षामा प्रश्न पत्र बाहिरिएपछि कक्षा ११ र १२ को परीक्षामा त्यस्तो त्रुटी नहोस् भनेर परीक्षा बोर्डले सबै प्रश्नपत्रको सुरक्षाका लागि सिसी क्यामरा जडान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here