काठमाडौं- इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति सेमिफाईनलको दोस्रो लेग बार्सिलोनालाई ४–० गोल अन्तरले हराउँदै लिभरपुल समग्रमा ४–३ को नतिजासहित फाइनल प्रवेश गरेको हो।
यस अघि पहिलो लेगमा बार्साले लिभरपुललाई ३–० ले हराएको थियो। घरेलु मैदानमा भएको खेलमा लिभरपुल मुख्य फरवार्डद्वय रोबर्टो फिर्मिन्हो र मोहमद सलाहाबिना मैदान उत्रिएको थियो। लिभरपुलको जितमा डिभोक ओरिगी र जर्जिनियो वाइनाल्डमले समान २–२ गोल गरे। खेलको ७ औ मिनेटमा ओरिगीले लिभरपुललाई अग्रता दिलाए। ५४ औ मिनेटमा वाइनाल्डमले लिभरपुलको अग्रतालाई दोब्बर बनाउन सफल भए।
बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका उनले ५६औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुल ३–० ले अगाडी पुर्याए। ७९ औ मिनेटमा ओरिगीले क्लबका लागि चौथो गोल थप्दै लिभरपुरलाई ऐतिहासिक जित दिलाए।

















