सरकारी जग्गा ५९० रोपनी मालपोत अधिकृतका परिवारको नाममा दर्ता

296

काठमाडौं / जुम्लाका मालपोत अधिकृतले सरकारी जग्गा श्रीमती, छोरी र नातागोताको नाममा पास गराएको पाइएको छ ।

 प्रधानमन्त्री निवास हाताको २९९ रोपनी जग्गा भूमाफियाले हडपेको चर्चा चलिरहँदा जुम्लाका मालपोत अधिकृतले त्योभन्दा दोब्बर सरकारी जग्गा श्रीमती, छोरी र नातागोताको नाममा पास गराएको पाइएको  हो । ती मालपोत अधिकृत हुन्- जुम्लाको गुठिचौर गाउँपालिका-४ बाउलीगाउँका गोविन्दप्रसाद न्यौपाने । हाल सेवा निवृत्त न्यौपानेले सेवामा रहँदा २०६६ सालमा गुठिचौरस्थित राष्ट्रिय भेडाबाख्रा अनुसन्धान कार्यक्रमको ३ लाख वर्गमिटर अर्थात ५९० रोपनी जग्गा पत्नी गोमा, छोरी पार्वती र १४ जना आफन्तको नाममा दर्ता गराएको पाइएको छ ।

जुम्ला जिल्लाको घुम्नै पर्ने ठाउँमध्ये पर्छ, गुठिचौर । चाउले हिमाल, गिडी दह, ठाकुरज्यू लगायतका पर्यटकीय स्थलहरुले गोठीचौरको महत्व बढाएका छन् । चाउले हिमाल मुनिको कोल्टे गाउँबाट पश्चिममा छ, भेडाबाख्रा अनुसन्धान कार्यक्रमको फार्म । फार्ममा न्युजिल्याण्ड र अस्ट्रेलियाबाट ल्याइएका उन्नत जातका भेडा बाख्राबाट नश्ल सुधार गरिन्छ।

राष्ट्रिय भेडाबाख्रा फार्मको विभिन्न कित्ताको २२ लाख वर्गमिटर जग्गा नापनक्सा भएको छ । साविक गुठिचौर गाविस- ६ को कित्ता नम्बर ३ मा भेडाबाख्रा फार्मको नाममा ६ लाख २१ हजार ५२५ वर्ग मिटर जग्गा फिल्डबुकमा कायम छ । त्यसैमध्येको तीन लाख वर्ग मिटर (५९० रोपनी) जग्गा न्यौपानेले निजी बनाइदिएका हुन् ।

मालपोत अधिकृत रहँदा न्यौपानेले गरेको बदमासी प्रमुख जिल्ला अधिकारी ९सीडीओ० भएर जुम्ला आएपछि रुद्रप्रसाद पण्डितले पत्ता लगाएका हुन् । पण्डित तिनै सिडिओ हुन् जसले सिराहामा पनि हडपिएको २१ विघा जग्गा सरकारको नाममा ल्याएका थिए । उनी २०७२ चैतमा जुम्लाका सिडिओ भएका थिए ।

गुठिचौरको सरकारी जग्गा व्यक्तिको बनाएको सूचना पाएपछि अनुसन्धान गरेर उनले फेला पारेको तथ्य चकित पार्ने खालका छन् ।

न हदवन्दीको पालना, न स्थानीय निकायको सिफारिस

भूमि सम्वन्धी ऐन २०२१ ले पहाडी जिल्लामा खेतीपातीको लागि ७५ रोपनी र घरबासको लागि ५ रोपनीसमेत गरी ८० रोपनीभन्दा बढी जग्गा राख्न नपाउने व्यवस्था गरेको छ । आफ्नै जिल्लामा मालपोत अधिकृत हुन पुगेका न्यौपानेले भने आफ्नी श्रीमती गोमा र छोरी पार्वतीको नाममा १३८ रोपनी जग्गा दर्ता गराए ।

मालपोत अधिकृतले मालपोत ऐन २०३४, भूमि सम्वन्धी ऐन २०२१ र जग्गा नाप जाँच ऐन २०१९ ले गरेको व्यवस्थाभित्र रहेर जग्गा दर्ता, नामसारी, रजिष्ट्रेशन, लिखत पारीत लगायतका कामकारबाही गर्नुपर्ने हुन्छ ।

मालपोत अधिकृतले आफ्नो र परिवारको स्वार्थ रहेको जग्गाबारे निर्णय गर्न पनि पाउँदैनन् । भोग प्रमाणले जग्गा दर्ता योग्य देखिए परिवारको मुलीको नाममा जग्गा दर्ता गरेर अंशियारलाई अंशबन्डा गर्नुपर्छ । तर मालपोत अधिकृत न्यौपानेले कुनै नियम पालना गरेका छैनन् । उनले राजश्व छली गर्ने उद्देश्यले गुठिचौरको सरकारी जग्गा १४ जनाको नाममा सीधै दर्ता गराएको देखिएको सिडिओ पण्डितले गरेको अनुसन्धान प्रतिवेदन बताउँछ ।

प्रतिवेदन अनुसार, न्यौपानेले १४ जनामध्ये सबभन्दा धेरै ३५ हजार १५० वर्गमिटर जग्गा श्रीमती गोमा र त्यसपछि ३४ हजार ८५० वर्गमिटर छोरी पार्वतीको नाममा दर्ता गराएका छन् ।

१२ आफन्तमध्ये एक जनाको नाममा ३३ हजार वर्गमिटर, अर्का एक जनालाई ३२ हजार ३३५ वर्गमिटर र ६ जनाको नाममा २० हजार वर्गमिटर जग्गा दर्ता गराएका छन् । अनलाइन खबरमा समाचार छ । त्यस्तै, एक जनालाई १३ हजार ३३५ वर्गमिटर, एक जनालाई १३ हजार ३३० वर्गमिटर र एक जनालाई २ हजार वर्गमिटर दर्ता गराइदिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here