–चन्द्रप्रकाश बानियाँ
दक्षिणवर्ती छिमेकी भारतमा सोह्रौं लोकसभाका लागि निर्वाचन अभियान चलिरहेको छ र अर्को साता अर्थात २३ मईमा मतगणना हुनेछ । ९० करोड मतदाता रहेको भारतले एकैदिन सबै परिणामहरु घोषणा गर्न सकिने गरी निर्वाचन प्रविधिको प्रयोग गर्नेगरेको छ । निर्वाचनले समाजलाई तरङ्गित बनाउँछ र सम्भावित हार जितको अनुमान, विवेचना र विश्लेषण हुनु स्वाभाविक मानिन्छ । दर्जनौं पार्टीहरूले निर्वाचनमा भाग लिएका भएपनि मूलतः भारतीय चुनाव दुई ध्रुबीय बनेको छ । एकातिर भाजपा नेतृत्वमा २४ पार्टीको गठबन्धन छ, अर्कोतिर महागठबन्धन नामको विपक्षी गठवन्धन मैदानमा उत्रिएको छ । विपक्षी गठबन्धनले प्रधानमन्त्रीको सर्वसम्मत उम्मेदवार निर्वाचनपूर्व अघिसार्न नसकेको कारणले सिटसंख्या यताउता भएपनि चुनावपछि पुनः मोदी नेतृत्वकै सरकार बन्ने छ भन्ने अनुमान पर्यवेक्षकहरूले गर्नेगरेका छन् । तर मोदीका लागि यसपटकको चुनाव उति सहज भने देखिएको छैन । खागररेर, अघिल्लो निर्वाचनमा भाजपाले अघिसारेको भ्रष्टाचार निर्मूल गर्ने, विदेशिएको कालो धन फिर्ता ल्याउने र वर्षेनी दुई करोड नयाँ रोजगारीका अवसरहरू सिर्जना गर्नेजस्ता प्रतिबद्धता कार्यान्यन हुन नसकेकोेले जनताको विश्वास मोदी सरकारले गुमाउनुपर्ने स्थिति उत्पन्न भएको छ । विकासे मुद्दा नभएकैले होला यसपटक भाजपाले निर्वाचनको मुख्य नारा‘राष्ट्रवाद‘लाई बनाएको छ । जसरी नेपालमा राष्ट्रवाद भनेको ‘भारतविरोध हो‘ भनेर बुझिन्छ, त्यसैगरी भारतमा पनि पाकास्तानविरोधी भावनालाई राष्ट्रवादको परिभाषाका रुपमा बुझ्नेगरिन्छ । पुलवामा हमलापछिको कथित सर्जिकल अट्याक निर्वाचनमा भारतीय मतदाताहरुमा रहेको पाकिस्तानविरोधी भावनालाई आकर्षित गर्नका लागि तयार गरिएको काल्पनिक पे्रापोगण्डा मात्र थियो कि भन्ने अशंकासमेत भारतीय विद्वतसमाजमा विकसित भएको छ । भारतीय सैनिक हमलामा सयौ आतङ्कवादी हताहत भएको कुरामा भाजपाका अन्धसमर्थक बाहेक अरुले विश्वास गरिहालेको देखिदैन । त्यसमाथि सबभन्दा बढी सिटसंख्या रहेको उत्तरप्रदेशमा बनेको सपा–वसपा गठबन्धनले भाजपाको जग हल्लाइदिएको छ । त्यसैले हतास मनस्थितिमा पुगेका मोदीले चुनावीसभाहरुमा जनतासमक्ष आफ्ना कार्यक्रम राख्नुभन्दा विपक्षीहरुलाई गाली गर्नमै समय खर्चने गरेका छन् । यद्यपि त्यो मामलामा विपक्षी दलका नेताहरुपनि पछाडि छैनन् तापनि मोदीको उचाईको व्यक्तित्वबाट सभ्य समाजले अलि बढी अपेक्षा राख्नु स्वाभाविक मानिदो रहेछ ।
अघिल्लो निर्वाचनमा लोकप्रिय बनेको ‘चायवाला‘ को प्रोपोगण्डाले आकर्षण गुमाइसकेको हुनाले यसपटक‘मै चौकिदार हुँ‘ भन्ने नयाँ नारा अघि सारिएको छ । विपक्षीबाट ‘चौकीदार चोर है‘ भन्ने प्रतिउत्तर व्यापकरुपमाप्रचारमा लगिएपछि अत्तालिएका मोदी व्यक्तिगत गालिगिलौजमा समेत उत्रन थालेका छन् । प्रधानमन्त्रीका सम्भावित दावेदारहरुमध्येका वसपाकि मायावती, काँग्रेसका राहुल गाँधी र तृणमूल काँग्रेसकि ममता वनर्जी मोदीको निशानामा परेका देखिन्छन् । विपक्षी गठबन्धनले प्रमको सर्वसम्मत उमेदवारको घोषणा नगरेका भएपनि मोदीको अुख्य निशानमा काँग्रेस रहेको छ । ‘काँग्रेसमुक्त भारत‘को पैरवी गर्ने मोदीसँग भारतका विद्वान, बुद्धिजीवि र स्वतन्त्र पर्यवेक्षकहरु भने सहमत देखिदैनन् । काँग्रेसनिषेधको मोदीनीतिलाई अलोकतान्त्रिक चिन्तनको संज्ञा दिनेगरेका छन्। काँग्रेससँग भाजपाको राजनीतिक प्रतिद्वन्दिता स्वभाविक होला तर निषेध र निर्मूल गर्ने चिन्तन हिन्दुवादी तानाशाही स्थापनाको कलुषित मनसाय हो भनेर विश्लेषण गर्ने गरिएको छ । राहुल गाँधी भारतीय राीष्ट्रय काँग्रेसका अध्यक्ष भए पनि सत्ताको लागि नितान्त नयाँ र अपरीक्षित नेता हुन् । उनलाई खुइल्याउने मोदीसँग कुनै इसुु रहेको देखिदैन । गान्धी परिवारको सदस्य हुनु नै मोदीको दृष्टिमा राहुलको अयोग्यता बनेको छ । तर कुनै वंशविशेषमा जन्मनु कसैको योग्यता वा अयोग्यताको कारण बन्छ भन्ने कुरामा पनि भारतीय विद्वतसमाज समहत रहेको देखिदैन ।
मानिसको विश्वनीयताको पहिलो मानक उसको बोली हो । ‘ढाँटेको कुरा काटे मिल्दैन‘ भनिन्छ । अर्थात झुट ढिलोचाँडो सार्वजनकि हुन्छ । पोल खुल्दछ । संसार विशाल छ । मानवज्ञान र प्रविधिले सिङ्गोे ब्रह्माण्ड छिचोलिसकेको छैन । प्रविधि, विद्या, दर्शन र ज्ञानविज्ञानको एकमुष्ट खुराक प्राप्त छैन । मानव मष्तिष्क सम्पूर्ण जानकारीबाट परिपूर्ण हुनै सक्तैन । सबै विषयको ज्ञाता आफूलाई ठान्नु आफूले जाने, बुझे र देखेको कुरा नै सम्पूर्ण सत्य हो भन्ने गलत चिन्तनको परिचायक हो । त्यसैले सार्वजनिकरुपमा अभिव्यक्त हुँदा सतर्क रहनुपर्ने हुन्छ । अर्थात हरेक विषयमा अण्टसण्ट बोल्दै हिड्नु गलत हुन्छ । नेपाली नेताहरुमाझै मोदीमा पनि आफूलाई सर्वज्ञ मान्ने भ्रम रहेको देखिन्छ । एकताका रामायणको कथामा परेको पुष्पक विमानको मिथकलाई सत्य मानेर हवाईजहाज निर्माण प्रविधिको विकास भारतमा भएको हो भन्दै हिड्ने मोदीको चेष्टा पश्चिमाहरूका लागि परिहासको विषय बनेको थियो । निर्वाचन अभियानकै सन्दर्भमा उनले व्यक्त गरेको एउटा सार्वजनिक टिप्पणीले फेरि अर्को स्क्यान्डल खडा गरेको छ । पुलवामा हमलाको प्रतिषोध लिने सन्दर्भमा पाकिस्तान अधिनस्थ कास्मिरको जङ्गलमा गरिएको ‘सर्जिकल स्ट्राइक‘को सैनिक मिसनको परिचालन आफूले गरेको दावी गर्दै ‘आकासमा कालो घना बादल लागेको हुनाले भारतीय विमानहरु पाकिस्तानी राडारको पहुँचभन्दा बाहिर रहनेछन्‘ भनेर सैनिक अधिकारीहरूलाई निर्देशन गरेको थिएँ भन्ने भनाइले ‘राडार प्रविधि‘बाट पूरै अनविज्ञ रहेको कुरा खुलासा गरिदिएको छ । अर्थात आधुनिक विज्ञान प्रविधिसँग मोदी परिचित रहेनछन् भन्ने कुराको रहस्योत्घाटन गरिदिएको छ । त्यही सन्दर्भमा उनको अर्को एउटा टिप्पणी पनि अँधेरोमा ढुङ्गा हान्ने खालको प्रमाणित भएको छ । उनले एउटा प्रसंगमा सन् १९८७/८८ तिर आफूले डिजिटल क्यामेरा चलाउने गरेको र इमेलमार्फत तस्वीरहरू सम्प्रेषण र सेयर गर्ने गरेको थिएँ भनेका थिए । वास्तवमा १९९२ मा बल्ल पहिलोचोटि इमेलकोपरीक्षण सम्प्रेषण भएको थियो । अर्थात मोदीले विल्कुल झुटो कुरो गरेका थिए । त्यसबाट इमेल/इन्टर्नेट प्रविधिको विकास कहिले भएको हो भन्ने कुराको जानकारी उनमा थिएन भन्ने कुरा खुलेको थियो ।
हुनत संसार यस्तै हो । आफूले टेकेको भूई बिर्सेर बोल्दै हिड्ने राजनेता मोदी मात्र अपवाद होइनन् । हाम्रा नेताहरु पनि कम्ति बोलक्कड छैनन् । बोल्न थालेपछि आफ्नै धोती फुस्केको समेत पत्तो पाउँदैनन् । नेपाल भारतबीच पञ्चेश्वर परियोजना निर्माणको सम्झौता भएपछि त्यसबाट नेपाललाई प्राप्त हुने तीन हजारभन्दा बढी मेघावट विद्युत उर्जा ‘बाख्राको मुखमा कुभिण्डो‘ भनेजस्तो हुनेछ भन्ने अनुमान गरिन्थ्यो । त्यतिखेर कालीगण्डकी–एबाट उत्पादित एकसय मेघावाट विद्युत शक्ति नेपालमा पुरै खपतहुनसक्ने अवस्था थिएन । त्यसैले महाकाली परियोजनाबाट उत्पादन हुने विद्युतको विशाल राशी भारतले किनिदिएन भने केगर्ने भन्ने समस्या समाधानका लागि महाकाली सन्धीका पक्षधर तथा अभियन्ता तत्कालीन एमाले महासचिव माधव नेपाल‘स्याटेलाइटको माध्यमबाट चीनतिर निकासी गर्न सकिन्छ‘ भनेर चर्चित बनेका थिए । ज्ञानविज्ञानका लागि विश्वविद्यायबाट ज्ञान आर्जन गर्नुपर्ने आवश्यकता छैन, गौतम बुद्धसँग कुनै विश्वविद्यालयको डिग्री थिएन‘ भनेर वर्तमान प्रधानमन्त्री पनि एकताका निकै चर्चित बनेका हुन् । लिटिलबुद्धको नामबाट परिचित रामबहादुर वमजनको सम्बन्धमा विना अध्ययन तपस्या गरेर मात्र कोही ज्ञानी बन्दैन, विना अध्ययन बोधीसत्व प्राप्त हुदैन भनेर सार्वजनिक टिप्पणी गर्दा आफूलाई खाँटी बुद्धिष्ट भनाउन रुचाउने केही बन्धुहरुबाट आलोचित हुनुपरेको कुरा अझै विस्मृतिमा गइसकेको छैन । बुद्धत्व प्राप्त गर्न अध्ययन होइन, तपस्या नै पर्याप्त छ भनेर पैरवी गर्ने मध्येका एकजना तत्कालीन माओवादीका नेता पनि थिए । आधिकारिक ज्ञान विना जुनसुकै विषयमा अनावश्यक टिपप्णी गरिहाल्ने रोगबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमेत मुक्त छैनन्। दक्षिण एसियामै सबभन्दा ठूलो अमेरिकी दूतावास भएको मुलुक नेपाललाई भारत अन्तर्गतको भूमि भनेर सार्वजनिक गर्ने गल्ती ट्रम्पजस्ता ठूला नेताले समेत गर्छन् भने हाम्रो जस्तो पिछडिएको समाजका नेताहरूले आफूलाई सर्वज्ञानी सम्झनु आश्चर्य मान्नुपर्ने विषये होइन कि ?


















