-राज्यलक्ष्मी शाक्य
मैले यसअघि पनि यसै विषयमा केही सुझावहरु प्रस्तुत गरेको थिएँ । सडकमा धूलो आउन नपाउने अवस्था कसरी विकसित गर्न सकिन्छ भनेर सम्बन्धित निकायले ध्यान पु¥याउनु पर्छ भन्ने सुझाव मैले दिएको थिएँ । सडकमा अब धूलो छैन, मास्क लगाएर हिँड्नु पर्ने अवस्था सकियो भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले भाषण गरेको केही दिनमात्र बितेको थियो । महानगरपालिकाले थप चार वटा ब्रुमर (सडकबाट धूलो सफा गर्ने मेशिन ) विदेशबाट खरीद गर्ने तयारी गरिरहेको समाचार बाहिर आएको छ । यसअघि खरीद गरिएका ब्रुमरहरुबाट काठमाडौंको सडकहरुमा कति सफाइ गर्न सकियो भन्नेतर्फ काठमाडौं महानगरपालिकाको ध्यान पुग्न सकेको पाइएन । काठमाडौं नेपालको राजधानी हो । यो रमणीय शहरको बीच भागमा रहेको सुन्दर फूलबारी समेत जोडिएको रत्नपार्कको खुलामञ्चको प्राङ्गणलाई ध्वस्त बनाएर त्यहीबाट सडकलाई धुलाम्य बनाउने स्रोत खोलिएको छ । जुन ठाँउलाई सोभायमान बनाउन हरियाली र रङ्गीचङ्गी फूलहरुले सजाउनु पर्ने हो । त्यही ठाँउलाई धूलो उत्पादन गर्ने कारखाना बनाएर शहरलाई कुरुप बनाइएको छ । अनि धूलो सफा गर्न विदेशबाट मेशिन खरीद गर्ने लज्जाजनक व्यवहार गरिन्छ । यस्तो व्यवहार गर्ने महानगरलाई रोक्ने निकाय देखिएन ।
महानगरका सडकमा ब्रुमर सञ्चालन भएको भर्खर एक महिना पुगेको छ । धूलो नियन्त्रणका लागि भन्दै ब्रुमर ल्याएर काठमाडौ महानगरपलिकाले निकै तामझामका साथ काम सुरु गरेको थियो । सडक धूलोमुक्त गर्ने भन्दै ११ करोड रुपैयाँ खर्चेर ५ ओटा ब्रुमर ल्याइएको थियो । काठमाडौंको शहरमा धूलो सफा गर्न खटिएका पाँचवटा ब्रुमर यतिबेला चुनौती खेपिरहेका छन् । विदेशका चिल्ला सडक सफा गर्ने ब्रुमरलाई काठमाडौंका खाल्डाखुल्डी परेका सडक सफा गर्न कठिनाई भइरहेको पहिले नै चर्चा भइसकेको छ । दुईओटा ब्रुमर बिग्रिएर थन्किएका छन् । यसैबीच महानगरले ४ करोड ४० लाख रुपैयाँ खर्चेर थप ४ ओटा नयाँ ब्रुमर ल्याउने तयारी गरेको सुनिएको छ । यो कहाँसम्मको लापरवाही र राज्यकोषको दुरुपयोग हो ? भइरहेको ब्रुमरबाट धूलो नियन्त्रण नभइरहेको बेला महानगरले थप ब्रुमर खरीद गर्नु असोभनिय लागेको छ । सडकको धूलो सफा गर्न ब्रुमर सञ्चालन हुँदै आएको भएपनि सडकको धूलो नियन्त्रणमा आउन सकेको छैन । ब्रुमर प्रयोगमा ल्याए पनि धूलोको स्रोत बन्द नगरिएसम्म समस्या समाधान हुने सम्भावना नै देखिदैन ।
हाल सञ्चालनमा रहेका ब्रुमरबाट नगरक्षेत्रको धुलो नियन्त्रणमा उल्लेख्य प्रगति देखिएकाले थप दुईवटा ब्रुमर खरिद गर्न लागिएको महानगरको दाबी छ । ब्रुमरले काठमाडौं सडक सफा हुन्छ भन्न सकिन्न र भएको पनि छैन । ब्रुमर प्रयोगमा आएपनि सडक सफा नभएको नगरवासीको समेत गुनासो आइरहेको छ । रातभर ब्रुमरले सफा गरेर धूलो नियन्त्रण गर्दा समेत भोलिपल्ट उत्तिकै मात्रामा सडकमा धूलो जम्मा हुने गरेको पाइएको छ । यस्तो अवस्थामा पनि महानगर भने ब्रुमर खरीदमै अग्रसर बन्दै गएको छ । महानगरले सडकको धूलो व्यवस्थापन गर्ने अर्को विकल्प खोज्न छोडेर ब्रुमर खरीद गर्नैमा अग्रसर हुनुले सडकको धूलो नियन्त्रणको बहानामा कमिसनको प्रलोभन बाहेक अरु केही अनुमान गर्न सकिन्न ।
सडकको धूलो नियन्त्रण गर्न ब्रुमर ल्याउने नभइ धुलो के कारणले भएको हो भन्ने वास्तविकता बुझेर धूलो हुनै नदिनेतर्फ महानगरले सोच्नु जरुरी हुन्छ । महानगरपालिकाका जनप्रतिनिधिहरू सबैले यो सवालमा ध्यान पु¥याउन सके मात्र समाधानतर्फको कदम पनि सार्थक हुन सक्ला । सरकारले फोहर व्यवस्थापन गर्ने र सडक व्यवस्थापनका साथै यातायात व्यवस्थापन गर्ने हो भने धुलो आफै नियन्त्रण हुनेछ । राज्यको आर्थिक कोषबाट यतिधेरै रकम खर्च गरेर विकसित मुलुकहरुमा प्रयोगमा ल्याइएका आधुनिक उपकरणहरूलाई नेपाल जस्तो विकाशोन्मुख देशका कच्ची सडकहरुमा धूलो हटाउने भन्दै खरीद गरेर ल्याउनैपर्ने आवश्यकता वास्तवमै देखिदैन । सम्बन्धित निकायको यसतर्फ ध्यान जान जरुरी छ । [email protected] – जनधारणा साप्ताहिक


















