प्रहरी कार्यालयको वातावरण नागरिकमैत्री हुनुपर्छ: महानिरीक्षक खनाल

299

काठमाडौं- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नागरिकको सेवामा समर्पित हुनुपर्ने हरेक प्रहरी कार्यालयको वातावरण सदैव नागरिकमैत्री हुनुपर्ने जनाउनुभएको छ ।

महानगरीय प्रहरी वृत्त गौशाला काठमाडौंको शुक्रबार आकस्मिक निरीक्षण पछि वृत्तमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिंदै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा जानकारी दिनुभएको हो ।

हरेक सेवाग्राहीलाई छिटोछिटो सेवा प्रदान गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले भन्नुभयो, “हरेक सेवाग्राहीलाई प्रहरीको सेवा प्रवाह राम्रो रहेको महसुस हुने गरी उत्कृष्ट काम गर्नुपर्छ ।” सामान्य नागरिकलाई सद्व्यवहार गर्न र अपराधविरुद्ध कानुनी कठोरता अपनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

समुदाय(प्रहरी साझेदारी कार्यक्रमका मूल्य मान्यता अनुरुप सेवाग्राहीलाई त्यसको उपादेयता महसुस हुने गरी काम गर्न निर्देशन दिंदै प्रहरी महानिरीक्षक खनालले समुदायसँग सहकार्य गर्दै अगाडि बढ्नुपर्ने समेत जनाउनुभयो ।

प्रहरी महानिरीक्षक खनालले सो अवसरमा उक्त वृत्तको निरीक्षण गर्नुका साथै त्यहाँबाट भएका कामकारवाहीबारे जानकारी समेत लिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here