काठमाडौं / नेपाली राष्ट्रिय फुटबल टिमका स्टार फरवार्ड सावित्रा भण्डारी साम्बाले दुई गोल गरेपछि सेथु एफसीले तेस्रो संस्करणको हिरो इन्डियन वुमन्स लिग (आइडब्लुएल) फुटबलको उपाधि जित हासिल गरेको छ ।
आज बुधवार पञ्जावको लुधियानास्थित गुरु नानक स्टेडियममा भएको फाइनल खेलमा सेथुले मणिपुर पुलिस स्पोर्ट्स क्लबलाई पराजित गरेको हो। खेलको पहिलो हाफमा एक गोलले पछि परे तापनि सेथुले दोस्रो हाफमा राम्रो प्रर्दशन गर्दै खेल जितेको हो । सेथुलाई च्याम्पियन बनाउन सावित्राले दोस्रो हाफमा दुई गोल गरिन् । यससँगै सावित्राले प्रतियोगितामा कूल १५ गोल गरिन्।
समूह चरणमा सावित्राले ह्याट्रिक गर्दा सेथुले मणिपुर पुलिसलाई ६—४ ले पराजित गरेको थियो। फाइनल खेलमा पनि सेथुले मणिपुरलाई सुरुवातदेखि नै दबाबमा राखेपनि गोल गर्न सकेको थिएन। ४४ औँ मिनेटमा राधारानी देवीले गोल गर्दै मणिपुर पुलिसलाई अग्रता दिलाएकी थिइन् । तर दोस्रो हाफमा मणिपुरले अग्रता कायम राख्न सकेन भने सेथुले पुनरागमन गर्यो । ५६औँ मिनेटमा मणिपुरकी उमापति देवीले आत्मघाती गोल गरेपछि सेथुले खेल बराबरी गरेको थियो । ६१औँ मिनेटमा सावित्राले व्यक्तिगत पहिलो गोल गरेपछि सेथुले २—१ को अग्रता बनायो । ७०औँ मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गरेपछि सेथुले ३—१ को अग्रता बनाएको हो।
त्यसपछि खेलमा गोल हुन सकेन र फाइनल ३—१ ले जित्दै सेथु च्याम्पियन भएको थियो । सावित्रासँगै सेथुबाट अर्की नेपाली खेलाडी अनिता बस्नेतले पनि खेलेकी थिइन्। तर उनले दुई खेल मात्र खेल्ने अवसर पाइन्। सेथुले प्रतियोगितामा खेलेको सबै खेल जित्दै उपाधि कब्जा गरेको हो।


















