नेपालमा तेश्रो राजनीतिक शक्तिको खाँचोे छ र ?

125

–चन्द्रप्रकाश बानियाँ
‘दिनैपिच्छे एउटा न एउटा नयाँ काम भैरहेको छ’ भनेर प्रधानमन्त्रीले दावी गर्छन् । नयाँ सरकारको उदयपछि नेपालले गरेको विकास चमत्कार देखेर संसार नै आश्चर्यचकित छ भन्छन् । विडम्बना नै मान्नुपर्छ सरकाले गरेको तिलस्मी चमत्कार नेपाली जनताको आँखामा भने पटक्कै पर्दैन ! दोष नेपाली आँखाहरुको हो कि सरकारको कामको हो कुन्नी ? वादशाहका लागि तानमा बुनिदै गरेका अदृश्य वस्त्रालङ्कारहरु र आधुनिक विकास प्रयाश उस्तै एस्तै उद्यम रहेछन् कि कुन्नी ? कथाका वादशाहका वस्त्रालङ्कारहरु कारखानबाट तयार भैवरी सुचिकारले सिलाइवरी वादशाहले धारण गर्दासम्म पनि मुर्ख जनताले देख्दै देखेनथे रे ! नेपाल सरकारले राखेको विकासनिर्माणको जग नेपाली जनताले देख्न नसक्नु स्वाभाविक पनि होला तर जगमाथि निर्माण भएको उन्नतिको विशाल भवनको धुरी मरिसक्दा पनि नेपाली आँखाले देखेनन् भने ‘नाङ्गो वादशाह’ को जस्तै हरिगति वर्तमान सत्ताको हुने हो कि भन्ने चिन्ताले समर्थक शुभचिन्तकहरूलाई त्राहीमाम् बनाएको छ । किनकि सरकारको विगत एकवर्षे कार्यकालको परिणतिस्वरुप सबै आर्थिक सूचाकाङ्कहरु नकारात्मक देखिएका छन् भनेर अर्थविज्ञहरुले दावी गर्न थालेका छन् ।

सत्तारुढ पार्टीका ठूला नेताहरुका कुरा सुन्ने र पत्याउने हो भने मुलुकको उन्नतिप्रगतिको अभियान रकेटको गतिमा उडिरहेको छ रे ! जनताले नदेखेको वा देख्न नसकेको मात्र हो रे ! सामान्य चर्मचक्षुले देख्न ठम्याउन नसकिने सरकारी विकास सायद ‘थ्रिडी’ प्रविधिको परेछ कि ? लुम्बिनी पुगेर हाम्रा प्रधानमन्त्रीले ‘सरकारले गरेका राम्रा कामको परिणाम अर्को वर्ष देखिन थाल्छ’ भनेछ  । नेपाली जनता भने सरकारी कुरा सुनेर आश्चर्यचकित छन् । भूईमा विरुवा रोपिएको देखिदैन, अर्को वर्ष फल्छ, फुल्छ भनेर कसरी पत्याउनु । हुन त कैयौ वनस्पतिका विरुवाहरुलाई नर्सरी व्याडमा उमारिरहनु पर्दैन । ती प्राकृतिकरूपमै उम्रन्छन्, हुर्कन्छन् । फलफूल र छहारी दिन थाल्छन् । उदाहरणका लागि पिपल वरजस्ता वनस्पतिलाई लिन सकिन्छ । प्रायः चौतारीहरूका शोभाका रुपमा हुर्काइने ती वनस्पतिहरूलाई कसैले नर्सरीमा उत्पादन गर्दैन । प्राकृतिक रुपमा उम्रिएका विरुवालाई चौतारीहरुमा प्रत्यारोपण गरिने हो । समभ्वतः विकासको वीउ पनि त्यस्तै पो हुने हो कि । कसै खनजोत गरेको पनि नदेखिने, नर्सरी व्याड राखेको पनि नदेखिने तर निश्चित सयमपछि रातारात हर्लक्क हुर्केको विशालवृक्ष दृष्टिगोचर हुने ! हाम्रा सरकारप्रमुखले मञ्चै पिच्छेबाट एउटा न एउटा तिलस्मी चमत्कारको योजना सुनाउँछन् । भलै आफ्नो जीवनकालमा पूरा हुने नसक्ने योजना नै किन नहोस्, आजै पूरा गरिदिन्छु भोलि नै गरिदिन्छु भन्न छोड्दैनन् । सायद विकासको अर्को नाम चमत्कारै पो हो कि त ?

सर्वसाधारणसँग सत्ताले भनेको पत्याउनुको विकल्प रहँदैन । पञ्चायतको एसियालाी मापदण्डको कुरा पनि पत्याइएकै हो । चाइनिज चच्ुचे रेलको किस्सा पनि पत्याइएकै छ । विकल्प नभएपछि नपत्याएर पो गर्नु के ? नेताका गँजडी गफलाई विकासमन्त्र भनेर पत्याइयो । नेताको व्यक्तिगत कुण्ठालाई महान ‘राष्ट्रवाद’ भनेर काँध चढाइयो । परिणामस्वरुप पाँच वर्षका लागि ठेक्का स्वीकृत गरेजस्तो भयो । बल्ल त मुश्किलले डेढवर्ष बित्दै छ । अझै त्यसको दोब्बरभन्दा बढी समय उडन्ते गफ सुनेरै साखुम गर्नुको विकल्प छैन । विकल्पकै कुरो गर्दा वर्तमान गफाडी ग्याङ्को भरपर्दो विकल्प नेपालमा अर्को छँदा पनि छैन । नेकपा नामको गफाडी डफ्फापको उपलब्ध विकल्प भनेको उही बुढो, पुरानो, जीर्ण, थोत्रो भैसकेको नेपाली काँग्रेस हो । काँग्रेस पो कुन फरक बारीको उत्पादन हो र ? नेपाली समाजले काँग्रेसी बोटमा लागेको तीतो फलको स्वाद पनि चाखिसकेकै हो । तीतोको विकल्प खोज्दो टर्रों हात लाग्यो । अब टर्रोको विकल्प पुनः तीतो रोज्नु बुद्धिमत्ता ठहर्ने छैन । मिठो विकल्प नेपाली बजारमा उपलब्ध नै छैन कमसेकम आजका दिनसम्म त्यस्तो सम्भावनाको लक्षणसम्म पनि देखिएको छैन । वर्तमान सरकाराके वैधानिक आयु तुरिँदासम्म आकाशबाट फुरौलाझै बर्सेछ भने कुरा बेग्लै होला ।

तेश्रो शक्ति निर्माणको हल्ला चल्न थालेको पनि झण्डै दशक बित्न लागिसक्यो तर न नेपाली मतदाताले तेश्रो शक्तिवालाको कुरा सुन्छन न तेश्रो शक्रिवालाहरुले चिल्लो पात नै देखाउन सकेका छन् । मिश्र र भट्टराई नामका ब्राण्डहरु जन्मदै विकलाङ्ग हुन् कि असमयमै जरामरणबाटट अभिशापित हुन् कुन्नी ? नेपाली माटोमा जन्मेका जति पनि आफूलाई विकल्प भनेर दावी गर्ने राजनीतिक समूह वा दलहरु अस्तित्वमा छन् ती सबै ‘नमेरा’ अण्डा सावित भएका छन् । उनीहरूको विरासत परम्परागत शक्ति नै रहेको देखिन्छ । अधिकांशले त सामन्तवादको सिरानी छोड्न सकेको देखिदैन । सामान्तबाट आफै बुढो भयो, मासियो । उसमा अझै पनि प्रजनन क्षमता छ भनेर विश्वास गर्नुभन्दा ठूलो मुर्खता अरू के होला र ? उही पुंँसत्व गुमाइसकेको व्यवस्था (भाले)बाट स्वस्थ सन्तान जन्मने सपना कुनैदिन विपनामा परिणत हुन्छ भनेर कसरी कसले पत्याइदिने खोई ? राजनीतिमा परिवर्तन सम्भव हुन्छ तर पुनरावृत्ति हुदैन । चर्खाजस्तो गोलचक्करमा राजनीति घुम्दैन । पुरानो बाटो समातेर नयाँ ठाउँमा पुगिन्छ भन्नु स्वैरकल्पना मात्र हो । त्यसैले हालसम्म नेपाली बजारमा वैकल्पिक राजनीतिक धारका रपमा रहेका वा उम्रेका संगठनहरूबाट अग्रगामी परिवर्तनको सम्भावना नेपाली जनताले देखेको छैन । त्यो कोटीमा विप्लवदेखि विवेकशील सम्मका सबै दलाहरु पर्छन । विकल्प दिने दावी गर्ने तर मैदानमा उत्रन लाज मान्ने अरू थुप्रै्र संघ संगठन पनि होलान् ।

हुनत नेपालीहरुमा धैर्यको मात्रा निकै कम छ । वर्तमान सरकार बनेको भर्खर एकडेढ वर्र्ष मात्रै बित्दै छ । एकै वर्षमा ब्याउनका लागि सरकार मुर्राभंैसी त होइन नी ! सरकारको कार्यक्षमता र कुशलता हेर्न कमसेकम पाँच वर्र्ष त कुर्नै पर्छ । विकास निर्माण, उन्नति प्रगति न बोटमा फल्ने फल हो न जमिनमा उम्रने कन्दमूल हो । विकासको विरुवा त रुखकटहरभन्दा पनि ढिलो फललाग्ने विरूवा हो भनिन्छ । रुख कटहर बाह््रबर्षमा बल्ल फल्छ रे ! विकास बृक्ष जुम्सो पो हुन्छ त । पञ्चायतको बुढो रुख ढलाएर रोपिएको प्रजातान्त्रिक बृक्षमा पो कहाँ अपेक्षित फल लागेको थियो र ? मनमाफिकको फल लागिदिएका भए ६२/६३ को आन्दोलन नै हुदैनथ्यो । त्यसको आवश्कतै पर्दैनथ्यो । त्यसैले वर्तमान सरकारीयाहरूको कुरा पनि ठिकै हो । धैर्य गरौं । एउटाले भएन, गर्न सकेन भने सत्रौटा सरकार फेरौला । २०४६ पछि पनि त करीब त्यतिगोटा त फेरियो क्या रे ! सत्रोटाबाट पनि भएन भने त्यसपछि अन्यथा सोचौंला । नेपाली समाजको मानसिकताले त्यही कुरा दर्शाउँछ । पछिल्लोपटक भट्टराइ र यादवहरु संयुक्त भएको घटनालाई “हर्ष न विस्मात” भन्ने खालको प्रतिकृया समाजमा देखियो । अर्थात नेपाली समाज नयाँ घटनाप्रति प्रतिक्रियाविहीन देखिएको छ । वर्तमान सरकाको गफाडी चरीत्रसँग वाक्कदिक्क भैसकेका भए पनि तेश्रो विकल्पको खोजी नेपाली समाजले गर्ने लक्षणा देखाएको छैन भन्नु बढता नहोला कि ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here