बढ्दै गएको हत्या,हिंसा र बलात्कारले उठाएको गम्भीर प्रश्न

286
Nisha Tamang

-निशा तामाङ

गत मंगलबार बिहानै सबै सञ्चारमाध्यमको गृहपृष्ठमा छापिएको समाचार–पाँचथर हत्याकाण्ड । समाचार पत्याउनै नसकिने थियो । हत्याकाण्डले सबैलाई भावविह्वल बनाएको छ । ९ जनाको विभत्सपूर्ण तरिकाले भएको सो हत्याकाण्डमा बाल बच्चालाई समेत बाँकी राखिएको छैन । अनुहार नै नचिन्ने गरी हानिएको सो घटना निकै दर्दनाक रहेको थियो ।

यसअघि घटेको ललितपुर हत्याकाण्ड पनि त्यस्तै विभत्स थियो । सुन्दै पत्याउन नसकिने अति नै डरलाग्दा घटनाहरु पटक–पटक हुने गरका सुनिन्छन् । दिनहुँ श्रृङ्खलाबद्ध तरिकाले घटिरहेका हत्या,बलात्कार ,चोरी ,लुटपाट जस्ता घटनाले हाम्रो समाज कता जाँदैछ भनेर सोच्न जरुरी भइसकेको छ । के मान्छे साँच्चै ‘राक्षस’ भएकै हो त ? हाम्रो समाजमा सामाजिक सुरक्षाको अभाव देखिएको छ । जनताले सुरक्षित महसुस गर्न सकेका छैनन् । सरकारले सुरक्षा दिन सकेको छैन । सरकारले अपराधीलाई कडा कारवाही गर्न पनि सकिरहेको छैन । अपराधीको मनोबल दिनानुदिन बढिरहेको छ । देशमा कानुन कमजोर बन्दै गइरहेको अवस्था छ ।

हुन त विश्वमा नै हत्या, हिंसा र बलात्कार बढ्दै गएको छ । जति समाज विकासको बाटोतर्फ अग्रसर हुँदै गइरहेको छ त्याति नै समाजमा हत्या हिंसा जस्ता घटनाले आक्रामक रुप धारण गरिरहेको अवस्था छ । नेपालमा भने महिला र बालबालिका धेरै हिंसाका शिकार भइरहेका पाइन्छन् । दिनदिनै बढ्दै गएको महिला हिंसा र हत्याका घटनाले देशमा शान्तिको वातावरण नभएको महसुस हुने गरेको छ । हरेक हप्ता ३/४ जना महिला हिंस,हत्या र बलात्कारका घटनाहरू राष्ट्रिय रूपमा नै चर्चाको विषय बन्ने गरेको पाइन्छ ।

अझ हालको परिवेशमा हेर्ने हो भने महिला हिंसा र हत्याका घट्नाले पराकाष्टा नै नाघेको छ । सोच्न पनि नसकिने गरी हत्या हुने गरेको पाइएको छ । भर्खरै मात्र ललितपुरमा आफ्नै जेठाजुले बुहारीको विभत्स हत्या गरेको घटना, प्रेमीले प्रेमीकाको हत्या गरेर खोलामा फ्याकेको घटना, जुन धेरै हिंस्रक पनि थियो । यसअघि पनि भएको रिना हत्या काण्ड होस् या रमिला हत्या काण्ड या बालिका निर्मला पन्त हत्याकाण्ड ! सबै हत्याकाण्ड निकै गम्भीर प्रकृतिका रहेका छन् । एसिड आक्रमण जस्ता घटनाले समाजमा अपराधिक अराजकता फैलिँदै गएको पुष्टि हुन्छ । मानिसमा मानवता हराउँदै गएको छ । प्रेम गरेको निहुँमा, श्रीमानले भनेको नमानेको बाहनामा, दाइजा नल्याएको निहुँमा , बोक्सीलगायत आरोपमा दिनहुँ जसो महिलामाथि हिंसा र हत्या हुँदै आएको छ ।

जताततै घटिरहेका यस्ता घटनाले देशमा जनसाधारणले शान्ति र सुरक्षाको अनुभूति गर्न पाइरहेका छैनन् । हाम्रो समाजमा सार्वजनिक भएका यस्ता कैयौं घट्नाहरु छन्, जसको विश्लेषणबाट हामीले हाम्रो समाज कतातिर डो¥याइरहेका छौं भन्ने अनुमान गर्न सक्छौं । हामीले हाम्रा अग्रजहरुबाट के सिकेका थियौं र भावी पुस्तालाई के सिकाइरहेका छौं ? यो गम्भीर प्रश्न हो ।

बलात्कार, हत्या र एसिड आक्रमण गर्नेहरु सजायको बदला उन्मुक्ति पाइरहेका छन् । अपराधीले न्याय पनि पैसामा खरीद गर्न सफल भइरहेको अवस्था छ एकातिर भने पीडितले न्याय पाउन सकेका छैनन् । सर्वसाधारण जनताले आफूलाई असुरक्षित महसुुस गर्न थालेका छन् । दिनदहाडै महिलाहरूमाथि बलात्कार तथा हत्या हुँदासमेत सुरक्षा निकायका अधिकारीहरू बेखबर वा मौन बसेका घटनाहरू सार्वजनिक हुन थालेका छन् । अपराध गर्नेहरुका विरुद्ध सरकारको कठोर कानुन र व्यवहार नभएका कारण यस्ता घटनाले प्रोत्साहन पाइरहेका छन् । सञ्चारमाध्यममा दैनिक महिलाहरूको बलात्कार, हत्या र हिंसाका समाचारहरूले प्राथमिकता पाइरहेका छन् । बालिका बलात्कार, हत्या , महिला हिंसा र विभेदका घट्नामा संलग्न दोषीलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सरकार असफल भएको छ । यसले गर्दा अपराध कर्म न्यूनीकरण हुने आशा गर्न सक्ने अवस्था देखिदैन । [email protected] -जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here