काठमाडौं / सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता डीआर पौडेलले भोजपुरमा निसशस्त्र विप्लव कार्यकर्ताको गोली हानी हत्या गरिएको घटना भिडन्त नभएको जनाउँदै नेकपाका जिल्ला नेता तिर्थराज घिमिरेलाई प्रहरीले नियोजित इन्काउन्टर गरेको जानकारी दिएका छन् ।
तिर्थराजको हत्याबारे विभिन्न टिकाटिप्पणी भइरहेको बेला नेता पौडेलले राज्यसत्ताले विद्रोहीलाई जिस्काएर हत्या र इन्काउन्टरको नीति लिए विद्रोह नजिकिने जनाए ।
जनयुद्धकालमा पनि दोहोरो भिडन्तको नाममा थुप्रैले शाहदत प्राप्त गर्थे भन्ने कुरा बुझेकै कुरा भएको भन्दै नेता पौडेलले त्यतिबेला आफूहरुले पूरानो सत्ताको करामत भन्ने गरेको र अहिले नयाँ सत्ताका सत्ताधिकारीले पनि त्यसै त गर्दै छैनौं ? प्रश्न समेत गरेका छन् ।
‘दोहोरो भिडन्तको नाममा हिजो जनयुद्धकालमा थुप्रैले कसरी शहादत पाउँथे भन्ने कुरा पनि सबैले बुझेकै कुरा हो । हामी हिजो त्यसलाई ‘पुरानो सत्ता’को करामत भन्थ्यौं । आज हामी नयाँ सत्ताका सत्ताधिकारी पनि त्यसै त गर्दै छैनौं ? आम रुपमा प्रश्न उठेको छ’ पौडेलले लेखेका छन् ।
तिर्थराजसँग भिडन्त भएको भनिएको धोद्रेमा आफूहरुले २०५१ देखि ०५६ को बीचमा घिमिरेबन्धुहरु कहाँ राति पुगेर दर्जनौं बैठक गरेको स्मरण गर्दै पौडेलले लेखेका छन्, ‘दोहोरो भिडन्तको पहिलो बरदात स्थल भनिएको धोद्रे हुँदै दिल्पा पाटन, साउने भएर कुदाककाउलेका घिमिरे बन्धुहरुकहाँ रात साँझ पुगेर ०५१–५६ को बीचमा पार्टीका दर्जनौं बैठक मैले पनि गरेको छु ।’
दोहोरो भिडन्तमा खुट्टामा गोली लागेको भन्दै अन्नपूर्णमा प्राथमिक उपचार र धरानमा मृत्यु कति प्रयोजित छ भन्ने कुरा सजिलै अनुमान लगाउन सकिन्छ भन्दै पौडेलले यो नियोजित इन्काउन्टर भएको दाबी गरे ।
‘युद्धको घोषणा गरेको, विद्रोहीहरु क. प्रचण्डले भन्ने गरेझैं फेरि जंगल गएको र राज्यले ‘जंगल सर्च’ नै चलाएको भए बेग्लै नभए धोद्रेमा दोहोरो भिडन्त, खुट्टामा गोली, अन्नपूर्णमा प्राथमिक उपचार र धरानमा मृत्यु कति प्रायोजित हो ? सहजै अनुमान गर्न सकिन्छ, यो नियोजित ‘इन्काउन्टर’ हो’ पौडेलले लेखेका छन् ।
राज्यको गोलीबाट तिर्थराजको मृत्यु भएको भन्दै शहिद भन्न अन्कनाउनु नपर्ने भन्दै पौडेल लेख्छन्, ‘जे होस् राज्यको गोलीले मृत्यु भएका तिर्थ घिमिरेलाई शहीद भन्न अन्कनाउनु पर्दैन । शहीद तिर्थ घिमिरेप्रति श्रद्धान्जली ! शोकसन्तप्त घिमिरे परिवारप्रति हार्दिक समवेदना ।’
यस्तो छ पौडेलका फेसबुक स्टाटसः
विद्रोहीलाई जिस्क्याएर राज्यसत्ताले हत्या र ईन्काउन्टरको नीति लिन थाल्ने हो भने विद्रोह नजिकिन्छ भन्ने कुरा त बादल कामरेडलाई थाह हुनु नै पर्ने हो । (०५२ को अनुभव)
दोहोरो भिडन्तको नाममा हिजो जनयुद्धकालमा थुप्रैले कसरी शहादत पाउँथे भन्ने कुरा पनि सबैले बुझेकै कुरा हो । हामी हिजो त्यसलाई ‘पुरानो सत्ता’को करामत भन्थ्यौं । आज हामी नयाँ सत्ताका सत्ताधिकारी पनि त्यसै त गर्दै छैनौं रु आम रुपमा प्रश्न उठेको छ ।
‘दोहोरो भिडन्त’ को पहिलो बरदात स्थल भनिएको धोद्रे हुँदै दिल्पा पाटन, साउने भएर कुदाककाउलेका घिमिरे बन्धुहरुकहाँ रात साँझ पुगेर ०५१-५६ को बीचमा पार्टीका दर्जनौं बैठक मैले पनि गरेको छु ।
युद्धको घोषणा गरेको, विद्रोहीहरु क.प्रचण्डले भन्ने गरेझैं फेरि जंगल गएको र राज्यले ‘जंगल सर्च’ नै चलाएको भए बेग्लै नभए धोद्रेमा दोहोरो भिडन्त, खुट्टामा गोली, अन्नपूर्णमा प्राथमिक उपचार र धरानमा मृत्यु कति प्रायोजित हो रु सहजै अनुमान गर्न सकिन्छ, यो नियोजित ‘इन्काउन्टर’ हो ।
जे होस् राज्यको गोलीले मृत्यु भएका तिर्थ घिमिरेलाई शहीद भन्न अन्कनाउनुपर्दैन । शहीद तिर्थ घिमिरेप्रति श्रद्धान्जली !शोकसन्तप्त घिमिरे परिवारप्रति हार्दिक समवेदना !!


















