रामपुर / पाल्पाको निस्दी गाउँपालिकाकाका एक वृद्ध कुष्ठरोगका कारण ३० वर्षदेखि जङ्गलमा बास बस्दै आएका छन्। निस्दी – ४ मित्याल घुंसिवरका जसवीर सुनारी कुष्ठरोग लागेका कारण गाउँदेखि करीब सात सय मिटर टाढा जङ्गलमा बस्छन्।
कुष्ठरोग लागेको थाहा पाएपछि २०४० सालमा गाउँलेले उनलाई गाउँमा कुष्ठरोग फैलिने डरले गाउँदेखि टाढा भिरालो जग्गा बाँसघारी नजीकै पठाएका थिए। उमेरले करीब ८० वर्ष पुगेका सुनारीले आफू बिरामी भएपछि गाउँलेले आफूलाई हेला गर्ने गरेको गुनासो गरे। “पहिले पनि मेरो नजीक आउन र सँगै खाना खान कोही मान्थेनन्, अन्त्यमा जङ्गलको बास गराए ”, सुनारीले गुनासो गरे।
अविवाहित सुनारीले भाइका छोराबुहारीले माया गरेर घर बोलाए पनि गाउँलेले दुव्र्यवहार गर्ने डरले गाउँ फर्कन नसकेको सुनाए । सुनारी पहिले आफ्ना भाइसँगै बस्दै आएको रहेछ । बुढेसकालको शरीर जङ्गलको बास, पानी पर्दा र रातमा जङ्गली जनावर कराउँदा डर सँगै दुःख लाग्ने सुनारी जानकारी दिए । हाल गाउँमा हुने विवाह तथा चाडपर्वमा सहभागी हुने गरेको उनले भने । सुनारी खरको छानो र खरले नै बारेको छाप्रोमा बस्दै आएका छन्। माइक्रो ब्याक्टेरियम नेप्रेइयमका कारण छालामा लाग्ने कुष्ठरोग लामो समयसम्म छालामा एकार्काबीच छोइराखे मात्र सर्ने रामपुर अस्पतालका मेडिकल अधिकृत रामप्रसाद कोइरालाले जानकारी दिए । कुष्ठरोग लागेर निको हुने भए पनि गाउँमा अझै अन्धविश्वासका कारण कुष्ठरोगीप्रति दुव्र्यवहार हुने गरेको छ।

















