पर्सा- गत शुत्रबार अपहरणमा परेका वीरगन्ज–३ पर्साका बालकको शव बारामा फेला परेको छ। अपहरणमा परेका बालक करण साह तुराहाको शव बाराको कलैया–११ मा फेला परेको हो।
प्रदेश प्रहरी कार्यालय जनकपुर, बारा र पर्साका प्रहरीको संयुक्त टोलीले बालकको उद्धार गर्ने प्रयास गरिरहेकै बेला बालकको हत्या भएको छ। शवलाई पोष्टमार्टमका लागि अस्पताल पठाउने काम भइरहेको छ ।
बालकको अपहरण गरी हत्यामा संलग्न भएको आशंकामा प्रहरीले ५ जना अभियुक्तलाई नियन्त्रणमा लिएको छ। तीमध्ये दुई जनालाई भाग्ने क्रममा गोली हानी नियन्त्रणमा लिएको बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जनाए।
घाइते अपहरणकारी वीरगन्जमा रहेको नारायणी अस्पतालमा उपचार भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए।
गत आइतबारसम्म अपहरणमा रहेका बालकसँग कुरा गराई ३० लाख फिरौती माग भएको पीडित परिवारले खुलासा गरेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


















