काठमाडौं- सरकारले जनताको अनुहार मलिन हुन नदिने संकल्प लिएको प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएका छन् । यसका लागि सबैको साथ अपरिहार्य रहेकाले सहयोग गर्न उनले अपिल गरेका छन् ।
गणतन्त्र दिवसको अवसरमा बुधबार जारी शुभकामना सन्देशमा बोल्दै प्रधानमन्त्री ओलीले हाम्रो प्रस्थानविन्दु सबैलाई खाद्य व्यवस्था, आवास, कपडा, शिक्षा र स्वास्थ्य एवं सुरक्षा हो । जनताको अनुहार मलिन हुने विवशता अन्त्य गर्ने संकल्प हामीले लिएका छौं ।’
यो संकल्पलाई सार्थक पार्न सबै पेशा, व्यवसायीहरुको साथ रहने विश्वास पनि उनले व्यक्त गरेका छन् ।
‘सुशासन र विकास आज हाम्रो प्राथमिकता हुन्’, प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘त्यसैले यो प्रगतिशील, देशभक्त र जनपक्षीय सरकार दृढ इच्छा शक्तिका साथ समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्न अग्रसर छ ।’
















