एजेन्सी चिनियाँ राष्ट्रपति सि चिनफिङ बुधबार रुस पुगेका छन्। सि तीन दिने भ्रमणका लागि रुस पुगेको एएफपीले जनाएको छ।
अमेरिकासँग व्यापार युद्ध जारी रहँदा सि रुस पुगेका हुन्। रुस पुग्न अगाडि सिले रुसको समाचार संस्था टाससँग भनेका थिए, ‘पुटिन मेरा उत्तम र आत्मिय मित्र हुन्।’ सिका अनुसार पुटिन र उनको गहिरो मित्रता छ। सेन्टपिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक फोरममा भाग लिन सि रुस पुगेको एससीएमपीले जनाएको छ। त्यहाँ रुस र चीनले कुटनीतिक सम्बन्ध स्थापित भएको ७० औं वर्षगाठ मनाउने जनाइएको छ ।
अमेरिका र चीनबीच व्यापार युद्ध जारी रहँदा चिनियाँ राष्ट्रपतिको रुस भ्रमणलाई महत्वका साथ हेरिएको छ। गत वर्षदेखि अमेरिका र चीन व्यापार युद्धमा होमिएका हुन्। पछिल्लो समय गत मे महिनामा अमेरिकाले चीनको २ सय अर्ब डलरका निर्यात सामाग्रीमा २५ प्रतिशत कर लगाएको छ।
चीनले पनि प्रतिक्रिया स्वरुप अमेरिकाको ६० अर्ब डलरको निर्यात सामाग्रीमा २५ प्रतिशत कर बढाएको छ। चीनले अमेरिकाले आर्थिक आतंकवादलाई प्रश्रय दिएको आरोप लगाइरहँदा अमेरिकाले चीनले अमेरिकासँग गलत व्यापार नीति लिएको आरोप लगाएको छ। सिको भ्रमणलाई लिएर चिनियाँ विश्वविद्यालयका प्राध्यापक तथा राजनीतिक विश्लेषक विलि लाम भन्छन्,‘यो भ्रमणबाट बेइजिङ अमेरिकालाइ आफूसँग बलियो सहयोगी छ भन्न चाहन्छ। जुन अमेरिकी एकरुपतावादविरुद्ध उपयोगी हुनेछ।’
सि र पुटिनको सम्बन्ध निकै सुमधुर रहेको जनाइन्छ । दुवैले सन् २०१३ यता झन्डै ३० पटक भेट गरिसकेका छन्। गत अप्रिलमा पुटिन चीन पुगेका थिए। पुटिनले चीनको बेल्ट एन्ड रोड इनिसियटिभ योजनाको समर्थन गरेका छन्। यसपटकको भेटमा सि र पुटिनले ३० वटाभन्दा बढी सहमति पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम भएको जनाइएको छ । रुस पुग्न अगाडि सिले टाससँग भनेका थिए, ‘व्यापारको मामलामा रुस अलग र आर्थिक रुपमा सानो छ। अमेरिका अगाडि रुसले चीनलाई पर्याप्त सहयोग गर्न सक्दैन।’ यद्यपी सि र पुटिनबीच व्यापार युद्धबारे छलफल हुने विश्वास गरिएको छ।


















