काठमाडौं– सत्तारुढ दलका सांसद जनार्दन शर्माले गल्तीहरु दोषारोपण गरेर पानी माथिको ओभानो नबन्न प्रतिपक्षी दललाई चेतावनी दिएका छन् । प्रतिपक्षी दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले माओवादीको हिंसात्मक द्धन्द्धका कारण नेपाली युवाहरु विदेश जान बाध्य भएको धारणा राखेपछि त्यसको प्रतिकार गर्दै उनले अरुलाई दोषारोपण गरेर उम्कने काम नगर्न चेतावनी दिएका हुन् ।
उनले संविधान निर्माण लगायत उपलब्धिको श्रेय मात्रै नलिएर सबै कमी कमजोरीको सबैले सामुहिक जिम्मेवारी लिनुपर्ने जनाए । उनले सत्तामा बसेर निरन्तर नेतृत्व लिएकाहरुले राम्रा कामका जस मात्रै नभई गल्तीहरुको पनि जिम्मेवारी लिनुपर्ने जनाए । गल्तीहरु दोषारोपण गरेर पानी माथिको ओभानो भएर सुख नपाईने भन्दै उनले सबै जसअपजसको सामुहिक जिम्मेवारी लिनुपर्ने जनाए ।
उनले भने, ‘परिर्वतनलाई, संघीयतालाई, संविधानसभालाई, अहिलेको अधिकारलाई बडो गर्वका साथ फलानोको पालामा यसो गर्यौ भन्ने ? अनि त्यसपछि आएर जनयुद्ध, जंगल पसेर सब विनाश गरे भनेर भन्ने ? म जिम्मा लिन चाहन्छु । जनयुद्ध गरेर यो देशको परिर्वतन गर्नेको एउटा कमाण्डर म पनि हुँ । त्यसकारण म पूर्ण रुपमा जिम्मा लिन चाहन्छु । त्यसले दिएको उपलब्धि , परिवर्तनका पक्षहरु, राजतन्त्र अन्त्य गरेको कुराहरु आज विर्सन मिल्छ ? त्यसकारण गल्तीहरुपनि सामुहिक रुपमा लिउँ । त्यहा भएका कमीकमजोरीहरु लिन म तयार छु । र त्यतिबेलाको माओवादी लिन तयार छ । कमरेड प्रचण्ड लिन तयार हुनुहुन्छ ।’
सांसद भुसालले २०४८ साल देखिको मुलुकको आर्थिक अवस्थाको फेयरिस्त प्रस्तुत गर्दे नेपाली कांग्रेसले लिएको नीजिकरणलाई तत्कालीन कम्युनिष्ट पार्टीले पनि सहयोग गरेको तथा २०५० सालमा एक बर्षको अवधिमा ९० हजारको रोजगारी श्रृजना भएको दाबी गरेकी थिईन् । सोही क्रममम उनले तात्कालीन माओवादी द्धन्द्धका कारण युवाहरु विदेशिन बाध्य भएको जनाएकी थिईन् ।


















