काठमाडौं / नेपाल वायुसेवा निगमले संचार माध्यमहरुमा तथ्यहीन समाचार संप्रेषण गरी भ्रम सिर्जना गर्ने प्रयास गरिएकोप्रति आपत्ति जनाएको छ ।
जेठ २६ गते आइतबार दिल्ली उडानमा जान लागेको RA-205 एयरबस ३२०–२०० जहाजमा पाइलटहरुले हेलचेक्राई गरेको भनी केही अनलाइनहरुमा प्रसारित समाचार पूर्णतः भ्रामक र कल्पोल्कल्पित र निगमको व्यवसायमा ठूलो क्षति पु¥याउने भएकोले त्यसको निगमले खण्डन गरेको छ ।
निगमले आज एक प्रेस विज्ञप्ती जारी गर्दै संचार माध्यममा आएका गलत समाचारको खण्डन गर्दै स्पष्टिकरण दिएको छ ।उडानको क्रममा आइआरएस (IRS), जहाजको पोजिसन र नेभिगेसन सिष्टममा ठीक भए/नभएको देखाउने कम्प्यूटर डाटावेस प्रणाली सुचारु गरेर नै टयाक्सीवेमा (Taxi Way) लगिएको थियो र ट्याक्सी–वे (Taxi Way) मा नै रोकेर आइआरएस (IRS), सुचारु गरेको कुरा सत्य नभएको निगमले जानकारी गराएको छ ।
निगमका पाइलटहरु आफ्नो दायित्व प्रति पूर्ण सचेत हुनुका साथै पूर्ण दक्ष भएकोले ट्याक्सी–वेमा (Taxi Way) आफ्टर स्टार्ट चेक लिष्ट (After Start Check List) र फ्लाइट कन्ट्रोल चेक (Flight Control Check) गर्नको लागि केही समय रोकिएको थियो । यसमा प्रि फ्लाईट चेक लिष्ट (Pre Flight Check List) र एस्ओपी (SOP- Standard Operating Procedure) पूर्णरुपमा पालना गरिएको निगमले जानकारी गराएको छ ।
निगमले जारी गरेको विज्ञप्ती अनुसार – ‘एटीसीले (ATC) ट्याक्सी गरिराखेको वेलामा जहाज ११ डिएमई (DME) मा आउँदैछ, तपाईहरु छिटो टेकअफ (Take Off) गर्न सक्नुहुन्छ भनेर अनुरोध गर्दा पाइलटले जहाज अवतरण गरे पछि मात्र हामी उडान गछौं भन्ने जानकारी गराइएको थियो जसमा २ देखि ३ मिनेट ट्याक्सी–वेमा होल्डमा परेको थियो ।’
निगमले सत्य तथ्य यही रहेको जानकारी गराउँदै तथ्यहिन र भ्रामक समाचार सर्वसाधारण कसैले पनि विश्वास नगर्न समेत अनुरोध गरेको छ ।


















