काठमाडौ, प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेना सुचनाको प्रवाहलाई सुनिश्चित तुल्याउन सधै प्रतिवद्ध रहेको बताएका छन् । सोमबार राष्ट्रिय सूचना आयोगसँगको समन्वयमा सूचनाको हक सम्बन्धी ऐन २०६४ तथा नियमावली २०६५ को व्यवस्था र सो को कार्यान्वयनको अवस्थालगायत नेपाली सेनाबाट उक्त ऐन कार्यान्वयनमा हालसम्म भएका कार्यहरु तथा प्राप्त उपलब्धी सम्बन्धी छलफल गर्ने उद्देश्यले आयोजित अन्तरक्रियामा उनले यस्तो बताएका हुन् । थापाले सूचनाको हक आमनागरिकको मौलिक हक भएको तथ्यलाई मनन् गर्दै सूचनाको संवेदनशिलतालाई समेत मध्यनजर गरी सूचना पहुँचको सहज कार्यान्वयन मार्फत सूचना प्रवाहलाई सुनिश्चित तुल्याउन नेपाली सेना सदा प्रतिबद्ध रहेको बताएका हुन् । उनले राष्ट्रिय सूचना आयोगबाट प्राप्त सुझावहरुलाई आत्मसात गरी आगामी दिनहरुमा सूचनाका हकको थप प्रभावकारी कार्यान्वयनका लागि नेपाली सेना सदा कटिबद्ध एवं प्रयत्नशिल रहिरहने बताए ।
अन्तरक्रिया कार्यक्रममा सूचनाको हक सम्बन्धी सैद्धान्तिक पक्षमा प्रकाश पार्दै प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटाले संविधानको धारा २७ अनुसार प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक भएकाले नेपाली सेनासँग माग हुने सूचना निर्वाधरुपमा प्रवाह गर्न नेपाली सेना प्रतिबद्ध रहनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा सूचना आयोगका आयुक्त यशोदादेवी तिम्सिनाले सूचनाको हक सम्बन्धी कानूनी पक्षहरुको बारेमा प्रकाश पारेकी थिइन।


















