चितवन / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा पेश भएको मिडिया काउन्सिल विधेयक र गुठी विधेयकप्रति असहमति जनाएका छन् ।
बुधबार बिहान भरतपुर विमानस्थलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रचण्डले विधेयक ल्याउँदा तयारी राम्रो नपुगेको स्वीकार गर्दै विधेयक ल्याउन सरकारले नजानेको हो वा जनताले नबुझेको हो भन्ने पत्रकारहरुको प्रश्नमा प्रचण्डले जवाफ दिँदै भने ‘जत्ति गृहकार्य भएर चीजहरु आउनुपर्ने थियो त्यसमा केही कमी रहेको देखियो । सरकार र पार्टी यसमा सतर्क भएको छ । र आउने दिनमा पर्याप्त गृहकार्य गरेर सहमति गरेरै विधेयक ल्याउने तर्फ लाग्ने छौं ।’
प्रचण्डले उक्त विधेयकप्रति असहमति जनाउँदै भने ‘मिडिया काउन्सिल विधेयकलाई आवश्यक परिमार्जन गरेर अगाडि लैजानु पर्छ भन्ने छ । गुठी विधेयकमा पनि बहस चलेको छ । त्यसलाई पनि परिमार्जन गर्नुपर्छ ।’

















