काठमाडौं – सरकारले सार्वजनिक यातायातको भाडा वृद्धिको निर्णय फिर्ता लिएको छ ।
दिउँसो भाडावृद्धिको निर्णय सार्वजनिक भएलगत्तै सामाजिक सञ्जाल र सञ्चारमाध्यममा सरकारको चर्काे विरोध भएको थियो ।
जनताको विरोधपछि सार्वजनिक यातायातको भाडा बढाएको पाँच घन्टा नबित्दै भाडावृद्धिको निर्णय फिर्ता लिइएको छ ।
यातायात व्यवस्था विभागले बिहीबार दिउँसो १२ प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय गरेको थियो । भाडा वृद्धिको निर्णयसँगै देशभरको नयाँ भाडादर समेत सार्वजनिक गरेको विभागले वैज्ञानिक भाडा समायोजन गर्न भन्दै अहिले निर्णय स्थगन गरिएको छ । यातायात व्यवस्था विभागका निर्देशक प्रेमनाथ सिंहले थप छलफल गर्नुपर्ने भएकाले हाललाई स्थगन गरिएको जनाएका छन् ।
विभाग स्रोतका अनुसार भाडा बढाउने निर्णय भएलगत्तै जनस्तरमा चर्काे दबाबपछि प्रधानमन्त्री कार्यालयले चासो देखाएको थियो । बजेट पारित नहुँदै भाडा बढाउँदा सरकारको तीव्र आलोचना हुने भन्दै निर्णय फिर्ता लिन दबाब आएपछि स्थगन गरिएको स्रोतको दाबी छ । निर्णय फिर्तासँगै तत्काललाई सार्वजनिक यातायातको भाडा नबढ्ने जनाइएको छ ।

















