– राज्यलक्ष्मी शाक्य
बेला–बेला समाजमा यस्ता घटना घट्ने गर्दछन् जसले नागरिकलाई सुरक्षा प्रदान गर्ने निकाय अर्थात प्रहरीको क्षमतामाथि नै प्रश्न चिन्ह खडा गर्ने गर्दछ । व्यक्ति, समाज र राष्ट्रको पहरेदार प्रहरीको भूमिकामा नै प्रश्न उठेपछि देशको शान्ति सुरक्षा कस्तो होला ? यो सोच्नै पर्ने गम्भीर विषय बनेको छ । नागरिकको सुरक्षा र शान्तिपूर्ण समाज तथा वातावरण निर्माण गर्न प्रहरीको निकै नै महत्वपूर्ण भूमिका हुने गर्दछ । यसमा प्रहरीको क्षमतामा नागरिकको सुरक्षा पनि जोडिने गर्छ ।
देशमा बढ्दै गएको हत्या, हिंसा र बलात्कारका घटनामा कमी आएको छैन । बरु वृद्धि भएको छ , तर प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले देशमा अपराधका घटनामा कमी आएको दाबी गर्दै नेपाल प्रहरी बलियो हुँदै गएको हावादरी गफ दिन भ्याएका छन् । खनालले समाजमा हुने बलात्कार लगायतका केसलाई लिएर प्रहरीमाथि दोष लगाउन नमिल्ने पनि उनको आश्चर्यजनक जिकिर पाइयो । तर प्रहरी बल जति नै बलियो बन्दै गएपनि अपराधिक घटना अझ बढ्दै गएको छ । यसको रोकथामका लागि प्रहरी असक्षम बन्दै गएको पुष्टि हुन्छ भने अपराधमा संलग्न पक्राउ परेका व्यक्तिहरूमाथि कारवाही हुन पनि सकिरहेको छैन । खुलारूपमा व्यक्तिमाथि खुकुरी प्रहारका घटना घट्दै गइरहेका छन् । यसरी बुझ्दा के ठोकुवा गर्न सकिन्छ भने अपराधिक घटनाहरू घट्ने होइन बढ्ने क्रम जारी छ । यो अवस्थाले हाम्रो देशको सुरक्षा निकायको कमजोर व्यवस्थापनलाई पुष्टि गर्दछ ।
यथार्थमा सबैभन्दा बढी सुरक्षाकर्मीहरू रहेको व्यस्त शहर राजधानीको केन्द्रविन्दुमै दिनहुँ अपराधिक घट्नाहरू घटने गरेका छन् । हालै मात्र कोटेश्वरमा चार जनाको समुहले एक व्यक्तिमाथि खुकुरी प्रहार गरेको समाचार सञ्चारमाध्यममा आएको छ । निर्मला बलात्कार हत्याकाण्ड र ३३ किलो सुन काण्डमा प्रहरीको अनुसन्धान कमजोर साबित भएको पुष्टि भइसकेको छ । प्रहरी अधिकृतहरूकै संलग्नता समेत ती अपराधहरूमा देखिदा पनि कारवाहीको दायरामा अपराधीहरू तानिन नसक्नुले सुरक्षा निकायको विश्वसनीयता वास्तवमै शंकाको घेरामा पुगेको छ । निर्मला पन्तको रहस्यमय हत्या प्रकरण र ३३ किलो सुनकाण्ड प्रकरणले प्रहरी सङ्गठनको छवि नै धमिल्याइदिएको छ भन्दा अब फरक पर्दैन । अझ पनि यसको पर्दाफास हुन सकेको छैन । यस प्रकरणले प्रहरीको क्षमतामाथि नै प्रश्न उठाएको छ । यसै प्रश्नको जवाफमा महानिरिक्षक खनालले अनुसन्धानहरूमा लापरवाही विल्कुलै नभएको भनेर लज्जाजनक दाबी गरेका छन् । निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गर्ने काम प्रहरीबाट नै भएको पुष्टि भइसकेको छ । त्यसैगरी ३३ किलो सुन काण्डमा पनि उच्च पदस्थ प्रहरी अधिकृतहरूको संलग्नता समेत पुष्टि भइसकेको छ । यस्ता घटनाले महानिरिक्षक खनालको दाबीलाई हास्यास्पद साबित गर्दछन् ।
एकातर्फ घटेका घटनाको सही अनुसन्धान नहुनु र अर्कोतर्फ अनुसन्धानको क्रममा निर्दोषलाई पक्राउ गरेर यातना दिनुले अपराध अनुसन्धानमा कमजोरी छ भन्ने कुरा पुष्टि हुन्छ । अपराध अनुसन्धानको क्रममा अनुसन्धानको नाममा सही अनुसन्धान नगर्ने अनि शंकाको भरमा जो कोही प्रति अनुसन्धान गर्नाले अपराध अनुसन्धानमा प्रहरीको क्षमतामाथि प्रश्न उठ्नु स्वाभाविक नै हो । निर्मला बलात्कार हत्याकाण्ड र रिना हत्याकाण्डमा अनुसन्धानका क्रममा पक्राउ गरिएकाहरूलाई अनुसन्धानका क्रममा दिइएको यातना नै प्रहरीको असक्षमताका उदाहरण हुन् । अनुसन्धानका क्रममा दिइने यातनाले वास्तविक अपराधी भाग्ने अवसर प्राप्त हुन्छ । अनुसन्धान राम्रो र प्रहरीको क्षमताको मापन गर्ने हो भने यस खाले अनुसन्धानले सही अपराधी पत्ता लगाउन पनि मुस्किल नै पर्छ ।
सुरक्षा विश्लेषकहरू सफल अपराध अनुसन्धान, नियमित कामकारबाही र निरन्तरताले नेपाल प्रहरी दक्षिण एसियाका अन्य प्रहरी सङ्गठनको तुलनामा अब्बल र उत्कृष्ठ रहेको दाबी पनि गरिरहेका छन् । तर नागरिकमा सुरक्षाको अनुभूति हुन सकिरहेको छैन । यहाँ कसको कतिबेला कहाँ हत्या हुने हो र को कतिबेला बलात्कारको शिकार बन्ने हो ? केही भन्न नसकिने अवस्था छ ।
सुरक्षा विश्लेषक हेमन्त मल्ल ठकुरी निर्मला हत्या घटना र ३३ किलो सुनकाण्ड मात्र प्रहरीको छवि मापन गर्ने आधार नभएको दाबी गर्छन् । एक/दुई घटनालाई देखाएर सिङ्गो सुरक्षा व्यवस्था र अपराध अनुसन्धानमा प्रहरीको क्षमतामाथि प्रश्न उठाउन नमिल्ने उनको जिकिर छ । यस्तो खालको सफाइ लिन खोज्ने प्रवृतिले एक दुईवटा अपराध गर्दा केही फरक पर्दैन भन्ने सोचाईलाई प्राथमिकता दिएको ठहर्छ । अपराध गर्नेका लागि पटक–पटक अपराध गर्न अवसर दिने वा एउटै अपराधमा कारवाही गर्ने ? यो प्रश्नको जवाफ के दिने ? त्यसैले अपराध हुनै नपाउने वातावरण बनाउन सक्नुपर्छ र अपराध भइहाल्यो भने अपराधीलाई कारवाहीको दायरामा ल्याउन सफल हुनुपर्छ , यो नै सक्षम सुरक्षा निकायको परिचय हो । –[email protected]जनधारणा साप्ताहिक
















