काठमाडौं- संसदमा गुठी विधेयक दर्ता गरेको सरकारलाई भू–माफियाको स्वार्थअनुसार यो निर्णय भारी पर्ने देखिएको छ ।
गुठी विधेयकको विरोधमा अहिले काठमाडौंलगायत देशभरका गुठियार आन्दोलित छन् । केही कम्युनिष्ट बाहुल्य क्षेत्रमा गुठीको जग्गा हडप्न खोजेकाहरुबाहेक अन्यत्र सरकारको चर्को विरोध भईरहेको छ ।
काठमाडौंमा दिनहुँ लाखौं नागरिक सांस्कृतिक सम्पदा वरपर भेला भएर सरकारको विरोध गरिरहेका छन् । गुठी सम्बद्ध संस्थाहरुले असार ४ गते माईतीघर मण्डलामा लाखौं नागरिक भेला पारी गुठी विधेयकको विरुद्धमा व्यापक प्रदर्शन गर्ने भएका छन् ।
सरकारले संसदमा दर्ता गरेको ‘गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक २०७५’ ले धार्मिक परम्परा, संस्कृतिमाथि प्रहार गरेको ठहर गुठीयारहरुले गरेका छन् । यसैको विरोधस्वरुप उनीहरुले संयुक्त विरोध प्रर्दशन गर्न लागेका हुन् ।
नेवा देय् दबुका अध्यक्ष नरेश ताम्राकारले उपत्यकाका तीन जिल्लाका गुठीयारहरु माइतीघरमा एकीकृत भई विरोध प्रदर्शनमा उत्रन लागेको जानकारी दिएका छन् ।
प्रस्तावित विधेयकले जग्गालाई मात्रै प्राथमिकतामा राखेको र धर्म, संस्कृति मास्ने नियत राखेकाले यो तत्काल खारेज गर्न गुठियारहरुले माग गरेका छन् ।
गुठीयारहरुले प्रस्तावित विधेयकको दफा २३, २४, २५ र ५४ मा रहेको व्यवस्थाले प्राचीनकालदेखि चलिआएका संस्कृति तथा जात्रा पर्व सञ्चालनमा आघात पुर्याउने ठहर गरेका छन्।
गुठी विधेयकको विरोधमा गत आइतबार माइतीघरमा गरिएको विरोध प्रर्दशनमा प्रहरीले गुठियारमाथि चरम दमन गरेको थियो ।
सरकारको यस्तो हर्कतपछि आक्रोशित गुठीयारले आन्दोलनलाई अझ सशक्त बनाइरहेका छन् । त्यसयता दिनहुँ प्रदर्शन गर्दै आएका आन्दोलनकारीले बृहत् प्रदर्शन तथा राँके जुलुस प्रदर्शन गर्दै आएका छन्। काठमाडौंको इन्द्रचोक र ललितपुरको मंगलबजार केन्द्रित भएर गुठीयारले प्रदर्शन गरिसकेका छन्।
विधेयक पारित भएमा गुठीको जग्गा, परम्परागत त्वाः, गुथि, चपाः, मठमन्दिर बहिवहाः, विहार आदिको जग्गा रैतानमा परिवर्तन भई व्यक्तिको नाममा पुग्ने कसाः तःधं गुथिले जनाएको छ। ताम्राकारले विधेयक खारेज नभई आन्दोलन नरोकिने जनाए। उनले भने, ‘विधेयक संशोधन होइन। खारेज हुनुपर्छ।’
गुठीयारको आन्दोलनमा नेवा मुस्लिम समाजले पनि साथ दिएको छ। ज्यापु महागुथि नेपाःले आज बिहान बसन्तपुरमा विरोध र्याली निकालेको छ। आज साँझ नै यङ्गाल र बुढानीलकण्ठमा पनि विरोध प्रदर्शन हुने ज्यापु महागुथि नेपाःले जनाएको छ।


















