१९४७ को त्रिपक्षिय सम्झौता पुनरावलोकन गर्न बेलायत तयार भएन

296

काठमाडौ, नेपाल, बेलायत र भारतकाबीचमा भएको सन १९४७ को सम्झौता पुनरावलोकन गर्न बेलायतले अस्वीकार गरेको छ । साताव्यापि यूरोप भ्रमणका क्रममा बेलायत पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले समकक्षी तेरेसा मेसँगको भेटमा यो विषय उठान गरेपनि बेलायतले यो विषय अस्वीकार गरेको हो । प्रधानमन्त्री ओलीले आइतबार स्वदेश फर्किने क्रमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बोल्दै यस विषयमा अफूले बेलायती समकक्षी थेरेसा मेसँग छलफल गरेको बताए । ‘मैले युकेमा प्रधानमन्त्री थेरेसा मेसँग पनि यो विषयमा कुरा गरेको हुँ । हाम्रो विचार वा सोच यो हो भनेर मैले भनेको हुँ । तर त्यो कुरा मात्र संयुक्त वक्तव्यमा आउँछ, जो दुवै पक्षलाई उत्तिकै सजिलोसँग स्वीकार्य हुन्छ । त्यो नभइसकेको अवस्थामा संयुक्त वक्तव्यमा आउँदैन्,’ प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले त्रिपक्षिय सम्झौता धेरै पुरानो भएको भन्दै त्यसले आजका आवश्यकतालाई निर्देशित वा नियन्त्रित गर्न नसक्ने बताए । ‘यो धेरै पुरानो भइसकेको छ, यो स्वभाविक हो कुनै आवेश उत्तेजना होइन’ उनले भने । प्रधानमन्त्री ओलीले त्यो सन्धि भारतबाट ब्रिटिस गोर्खा भनिएका नेपाली दाजुभाईको रेजिमेन्ट बाँडिएका बेलाको भएकाले त्यस कुरालाई त्रिपक्षियता राख्नुपर्ने आवश्यकता नभएको बताए । ‘हामी दुई पक्षिय सहमतिमा जान सक्छौँ, त्यसका लागि पुनरावलोकन गर्न सक्छौँ,’ उनले भने । ओलीले सम्झौताको समग्र पुनरावलोकनको पक्षमा रहेको भन्दै नेपालले उठाएको त्रिपक्षिय सम्झौता अब आवधिक नरहेको बताए । उनले यसको पुनरावलोकन गर्नुपर्छ भन्ने विषय भेटमा आफूले उठाएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here