काठमाडौं– अदालतले थुनामुक्त गरेको व्यक्तिलाई बार परिसरबाट नै पक्राउ गरेको विरोधमा उच्च अदालत बार एशोसिएशन पोखरा आन्दोलित बनेको छ ।
पक्राउ परेका नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको (नेकपा) का नेता कार्यकर्तालाई उच्च अदालत कास्कीले थुनामुक्त गरेको लगत्तै कास्की प्रहरीले बार कार्यालय भित्रैबाट पक्राउ गरेको भन्दै बार एशोसिएशन आन्दोलित बनेको हो ।
सोमबार कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढासमक्ष ज्ञापनपत्र बुझाउँदै उच्च अदालत बार एशोसियशन पोखराले अदालत परिसरबाट यस्तो कार्य भएकोमा चिन्ता ब्यक्त गरेको छ ।
शान्तिपूर्ण र्याली प्रर्दशन गर्दै बार एशोसियशन पोखराका सदस्यहरुले प्रहरीको रबैयाविरुद्ध आन्दोलित भएको जनाएका छन । ज्ञापनपत्र बुझाउँदै उच्च अदालत बार एशोसियशन पोखराका अध्यक्ष रोहित राज बास्तोलाले यहि जेठ ३० गते बार एशोसियशन पोखरा भित्रको कार्यालयबाट गैह्रकानुनी तवरले कास्की प्रहरीले बिप्लव नेतृत्वको (नेकपा) का ९ जनालाई पक्राउ गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
उनीहरुलाई जेठ २५ गते दिउँसोको समयमा कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ११ उरी भन्ने स्थानमा रहेको आमा समुहको भवनबाट प्रहरीले पक्राउ गरेको थियो । उनीलाई राज्यद्रोहको मुद्धा लगाइएको भएता पनि राज्यद्रोह बिरुद्ध यथेष्ठ प्रमाण नभेटिएको भन्दै न्यायाधीश तेजबहादुर कार्कीसहितको संयुक्त इजलासले रिहा गर्ने फैसला सुनाएको थियो ।
कास्की प्रहरीले रिहा भएका ९ जनालाई पुनः पक्राउ गर्न उच्च अदालत पोखराको बाहिर दिउँसैबाट घेरा हालेको थियो । पुनःपक्राउ पर्ने डरले बार एशोसियशन पोखराको कार्यालय भित्र रहेका बिप्लव कार्यकर्तालाइ प्रहरीले बल प्रयोग गरेर मध्यरातको समयमा बारको कार्यालय भित्रैबाट पक्राउ गरेर राति १ बजेको समयमा डाँडाको नाक प्रहरी चौकी पुर्याएको थियो ।
१८ जना कार्यकर्ता पक्राउ परेका मध्ये आज ८ जना रिहा भएका छन् भने अन्य १० जना प्रहरी हिरासतमा रहेका छन् ।

















