काेराेना उपचारका लागि चाहिने अक्सिजनकाे उत्पादन बढाइने

183

काठमाडाैैंैं । सरकारले कोभिड–१९ का सङ्क्रमितहरूको उपचार तथा उपचारका लागि अत्यावश्यक अक्सिजनको उत्पादन बढाउन र सोको व्यवस्थापनका लागि थप सजग र क्रियाशील रहेको जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अक्सिजनको उत्पादन बढाउने, अक्सिजन उद्योगहरूमा बिनाव्यवधान २४सै घण्टा विद्युत् र पानीको सुविधा सुनिश्चित गर्ने, उद्योगको सुरक्षाका लागि पर्याप्त व्यवस्था मिलाउने, अक्सिजनको उत्पादनसँग सम्बद्ध कर्मचारी अस्वस्थ भएमा तत्काल अस्थायी कर्मचारी/प्राविधिकद्वारा उत्पादन कार्य सञ्चालन हुनसक्ने वैकल्पिक व्यवस्था गर्ने निर्णय गरिएको जनाएको छ ।
उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा नेपाल सरकारका मुख्य सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवहरू, गृह सचिव, उद्योग सचिव, औषधि व्यवस्था विभागका महानिर्देशक, स्वास्थ्य सेवा विभागका महानिर्देशक, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षलगायत विभिन्न निजी क्षेत्र तथा जनप्रतिनिधिको सहभागिता रहेको बैठकले सो निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता किरणराज आचार्यले जानकारी दिनुभयो ।
बैठकले विदेशबाट अक्सिजन ट्याङ्कर आयात गरेर नेपालमा नै भर्ने, तरल अक्सिजन आयात गर्ने, प्रमुख अस्पतालमा हावाबाट अक्सिजन उत्पादन गर्न सक्ने प्रविधियुक्त अक्सिजन प्लान्ट तत्काल आयात गरी जडान गर्ने, स्वास्थ्य मन्त्रालयले आईसीयू, एचडीयू, भेन्टिलेटर र बिरामीको सङ्ख्याको तथ्याङ्क प्रकाशन गर्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।
त्यसैगरी उद्योगहरूलाई उपलब्ध गराउने अक्सिजनको कोटा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा तोक्ने र यसको अनुगमनका साथै आकस्मिक व्यवस्थापनका लागि समन्वय सीसीएमसीले गर्ने, सम्बद्ध उद्योग २४सै घण्टा चालू गरी अक्सिजन उपलब्ध गराउने, सञ्चित भएका जिल्लाहरूबाट काठमाडौँ उपत्यका बाहिरका अक्सिजन उद्योगहरूबाट अक्सिजन भरी उपत्यकामा ल्याउने प्रवन्ध गर्ने, औषधि उपकरण लगायतका मानवीय सहायता हवाई मार्गबाट ल्याउने व्यवस्था मिलाउने लगायतका निर्णय भएको छ ।

चार हजार ४०१ जना नेपाली स्वदेश फिर्ता
दोस्रो चरणको महामारी सुरु भएयता मुलुकको विभिन्न सीमा नाकाबाट चार हजार ४०१ नेपाली नेपाल प्रवेश गरेको गृह मन्त्रालयले जनाएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यसैगरी देशभरका दुई हजार २५७ क्वारेन्टाइनमा कुल तीन हजार ४०९ बेड क्षमता रहेको, क्वारेन्टाइन शय्या सङ्ख्या अघिल्लो दिनको तुलनामा २९० वटा बढेको, देशभर उपलब्ध ४१ हजार १५८ अक्सिजन सिलिन्डरमध्ये आठ हजार नौवटा अक्सिजन सिलिन्डर मात्र मौज्दात रहेको विवरण गृह मन्त्रालयबाट प्राप्त भएको विज्ञप्तिमा जनाइएको छ । यसैगरी उद्योग र निर्माण क्षेत्रबाट एक हजार ४६० अक्सिजन सिलिन्डर मेडिकल प्रयोजनका लागि प्राप्त भएको जनाइएको छ ।
अर्थ मन्त्रालयका अनुसार कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि तीन करोड ५७ लाख रुपियाँ बराबरको मेडिकल उपकरण, १८ करोड ६४ लाख रुपियाँ बराबरको औषधि पैठारी भएको सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यसैगरी कोभिड–१९ को प्रतिकार्यका लागि एचडीयू शय्या थापना गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पाँच करोड ५८ लाख, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दुई करोड ७२ लाख र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छ करोड २५ लाख रुपियाँ निकासा गरिएको सो सम्बन्धी जारी विज्ञप्तिमा जनाइएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बुधबार काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी समेतको संलग्नतामा अत्यावश्यक खाद्य पदार्थ एवं औषधिजन्य सामग्रीको नियमित बजार अनुगमन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट भएको जानकारी प्राप्त भएको जनाइएको छ ।

४०७ यात्रुको उद्धार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार गत २४ घण्टामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै पोखरा, लुक्ला, सुर्खेत र नेपालगञ्ज विमानस्थलबाट विभिन्न वायुसेवाले १२९ आन्तरिक उडान भरी जम्मा ४०७ यात्रुको उद्धार गरिएको छ ।
कुल उडानमध्ये मेडिकल उद्धारको उडान सङ्ख्या ५५ रहेको छ । हिमालय एयरले ढाका–काठमाडौँ कार्गो उडान भरी जम्मा ६.३४ टन कोभिडसम्बन्धी स्वास्थ्य सामग्री लिई आएको छ ।
कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमणदर दैनिक तीव्र गतिमा बढेको अवस्थामा नेपाल सरकार प्रत्येक व्यक्तिको स्वास्थ्य र सुरक्षाको प्रत्याभूतिमा अत्यन्त संवेदनशील रहेको विज्ञप्तिमा जनाइएको छ । गम्भीर भई उच्च समन्वय र प्रतिबद्धताका साथ नागरिकको स्वास्थ्य सुविधामा सहज पहुँच सुनिश्चित गरी यस विषम् परिस्थितिको हल गर्न÷गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को
कार्यालय सबैमा हार्दिक अपिल गर्दछ भनी विज्ञप्तिमा उल्लेख गरिएको छ । गाेेेेरखा पत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here