प्रधानमन्त्री कप महिला क्रिकेटको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशको विजयी

164

कञ्चनपुर / कञ्चनपुरको महेन्द्रनगरमा आयोजित प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेश विजयी भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गर्दै सुदूरपश्चिम प्रदेश विजयी भएको हो ।

टस जितेर ब्याटिङ रोजेको गण्डकीले २० ओभरमा सबै विकेट गुमाएर ५८ रन बनाएको थियो । गण्डकीका शिला रेग्मीले १९ र सुशीला गुरुङले १७ रन बनाएकी हुन् । यस्तै, सुदूरपश्चिमका तर्फबाट कविता कुँवर, लक्ष्मी साउद र जानकी भट्टले समान दुई–दुई विकेट तथा कविता जोशीले एक विकेट लिइन् । जवाफमा सुदूरपश्चिमले एक विकेट गुमाएर ७ ओभरमै लक्ष्य भेटाएको हो । सुदूरपश्चिमका तर्फबाट कविता कुँवरले २१ तथा कविता जोशी र रेवती धामीले समान १२ रन बनाए । गण्डकीका तर्फबाट मनिषा उपाध्यायले एक विकेट लिएकी थिइन् ।

प्रतियोगिताको दोस्रो खेलमा बुधबार बेलुका प्रदेश २ र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुने छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा प्रधानमन्त्री महिला कप क्रिकेट प्रतियोगिताको चौथो संस्करण बुधबारबाट महेन्द्रनगरमा सुरु भएको हो । प्रतियोगितामा एउटा विभागीय टिम ९सशस्त्र प्रहरी० र सात प्रदेशको गरी आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेतालाई ५ लाख र उपविजेतालाई ३ लाख नगद तथा ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here