काठमाडौं / सार्वजनिक यातायातमा यात्रा गर्दा कहिले भाडाका निहुँमा, त कहिले झर्ने ठाउँ र सिटका विषयमा चालक तथा सहचालकसँग विवाद गर्नुपर्दा यात्रुहरुले हैरानी व्यहोर्नु परेको छ ।
तोकिएकोभन्दा बढी भाडा लिने र बस बिसौनीमा समेत नरोक्ने गरेको यात्रुको गुनासो
सरकारले विद्यार्थीका लागि दिएको ४५ प्रतिशत छुट सार्वजनिक यातायातले तोकिएको छुट दिन चाहँदैनन् । उपत्यकाका अधिकांश यात्रुले दैनिक यी र यस्तै समस्या भोग्ने गरेका छन् । सार्वजनिक यातायातमा चालक–सहचालकले झर्किएर बोल्ने, तोकिएकोभन्दा बढी भाडा लिने र बस बिसौनीमा समेत नरोक्ने गरेको यात्रुको गुनासो छ । कतिपय यात्रु भने सहचालकसंग सानोे कुरामा समेत झगडा गर्ने भन्दै आफूलाई वा अरूलाई अन्याय पर्दा चुपचाप लाग्ने गरेका छन् ।
चालक–सहचालकको व्यवहार सुधार गर्न सरकार र यातायात व्यवसायी दुवैले ध्यान दिनुपर्ने यातायात क्षेत्रका अभियानकर्मी राम थापाले जनाउनुभयो । यातायात व्यवसायीले नाफाका केही हिस्सा आफ्ना कर्मचारीको तालीमका लागि छुट्याउनुपर्ने उहाँको सुझाव छ । सार्वजनिक यातायातमा चालक–सहचालकले यात्रुलाई सम्मान नगर्ने र सानो कुरामा पनि झगडा गर्दा यात्रु सहज वातावरणमा आवतजावत गर्न नपाएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार सार्वजनिक यातायातमा यात्रु र चालक–सहचालकबीच झगडा दैनिक भइरहेको छ । व्यवसायी आफैँले यात्रुले बढी पैसा दिँदा चानचुन छैन भन्दै तोकिएकोभन्दा बढी भाडा लिन चालक–सहचालकलाई भन्ने गरेका छन् । सरकारले सार्वजनिक यातायातमा अनुगमन र गल्ती हुँदा कारवाही गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘सरकारको अनुगमन बाक्लो हुँदा उनीहरुमा पनि सजग भएर यात्रुसँग राम्रो व्यवहार गर्न थाल्छन् ।’
पहिले यातायात व्यवस्थापनको जिम्मेवारी नेपाल सरकारको मात्रै भए पनि नेपालको संविधानले यातायात क्षेत्रको व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारलाई दिएको उहाँले जनाउनुभयो । सङ्घीय सरकारले नीतिनियम बनाउने भए पनि कार्यान्वयनको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारको भएको उहाँले जनाउनुभयो । उहाँले भन्नुभयो, ‘प्रदेश सरकारले यातायात क्षेत्रमा काम गर्ने मजदूरको क्षमता अभिवृद्धिमा ध्यान दिनुपर्छ । ’ (रासस)


















