प्रचण्डले भने, तीनै तहको समन्वय जनताले अनुभूति गर्ने गरी काम गर्नुपर्छ

102

चितवन– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय, प्रदेश र संघ सरकारको समन्वयमा जनताले विकासको अनुभूति गर्ने गरी काम गर्न आवश्यक रहेको जनाएका छन् ।

सोमबार माडी नगरपालिकाको तेस्रो नगरसभामा बोल्दै उनले तीनै तहको समन्वयले विकास र समृद्धि सम्भव हुने जनाए । अहिले तीनै तहको समन्वय गर्ने काम भइरहेको उनको भनाइ थियो ।

कानून निर्माणको क्रममा रहेका कारण तीन तहको समन्वयमा केही समस्या देखिए पनि पछि समस्या समाधान हुने अध्यक्ष दाहालले जनाए । अहिलेको परिवर्तन गुणात्मक भएको उनको भनाइ थियो । अध्यक्ष दाहालले पहिलाका परिवर्तन मात्रात्मक भए पनि राजा फालेर गणतन्त्र ल्याउनु सानो परिवर्तन नभएको भन्दै अव जनताले विकासमा परिवर्तन चाहेको जनाए ।

पुरानै संरचना र पुरानै कानूनमा काम गर्न कठिन भएको जनाउँदै अध्यक्ष दाहालले भने,’पुराना ऐन कानून र काम गर्ने तरिकामा परिवर्तन नआए नयाँ संरचनाले काम गर्न सकिँदैन ।”

माडीका समस्या र सम्भावना विशिष्ट प्रकृतिका रहेको भन्दै उनले समस्या समाधान गर्दैअघि बढ्ने तर्फ तीनै तह लाग्नुपर्नेमा जोड दिए । अध्यक्ष दाहालले माडीका जनताका लागि निकुञ्ज समस्याका रुपमा रहेको जनाए । दाहालले भने,’निकुञ्ज ऐन २०२९ जनताको आवश्यकतालाई महसु नभइ जनावरको आवश्यकतालाई महसुश गरेर ल्याइएको थियो, अव त्यसलाई संशोधन गरेर निकुञ्ज पनि रहने जनताको माग पनि पूरा हुनेगरी ल्याउने तयारी भइरहेको छ ।’ उनले थपे ‘ऐन संशोधनका विषयमा मन्त्रालय र विदेशी निकायसँग छलफल भइरहेको छ ।’

अध्यक्ष दाहालले बाँदरमुढे घटनाका पीडितसँग गरिएको सहमतिअनुसार काम अघि बढाउन लागिएको जानकारी दिए । सोही सहमतिअनुसार अहिले संघीय सरकारले घटनाका पीडितहरुको सम्झनामा १० करोड रुपैयाँको उद्यान निर्माणको तयारी थालेको उनले जनाए ।

अध्यक्ष दाहालले भने, ‘द्वन्द्वकालमा भएको ठूलो दुर्घटनाका पीडितलाई सबै तह मिलेर सहयोग गर्नु आवश्यक छ ।’ आफ्नो योजना माडीलाई मणि बनाउने रहेको भन्दै उनले प्रदेश र स्थानीय सरकारलाई सहयोग गर्न समेत आग्रह गरे । सबैको सहयोग भएमा केही वर्षमा माडीमा ठूलो परिवर्तन गर्न सकिने उनको भनाइ थियो ।

नगर प्रमुख ठाकुर ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य रामलाल महतो, नगरपालिकाका प्रवक्ता शिवहरी सुवेदीलगायतले बोलेका थिए । माडी नगरपालिकाले आर्थिक वर्ष २०७६र७७ का लागि ९२ करोड ७० लाख ४८ हजार रुपैयाँको बजेट पेश गरेको छ । जसमा चालुतर्फ १९ करोड ५० लाख रुपैयाँ र पूँजीगततर्फ ७३ करोड २० लाख ४८ हजार रुपैयाँ बजेट विनियोजन गरिएको नगर उपप्रमुख ताराकुमारी काजीमहतोले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here