काठमाडौ, भारतले आफ्नो अध्यागमन पार गरी विभिन्न मुलुक जाने नेपालीलाई भारतस्थित नेपाली दूतावासको सिफारिस पत्र अनिवार्य गरेको छ। भारतले साउदी अरेबिया, कतार, कुवेत, युनाइटेड अरब इमिरेट्स, ओमन बहराइन, इराक, लिबिया र लेबनान जाने नेपाली भारतीय अध्यागम हुँदै गएमा दूतावासको सिफारिस अनिवार्य लिनुपर्ने व्यवस्था गरिएको भारतस्थित नेपाली दूतावासले जनाएको छ । यो व्यवस्था भारतले हालै
मात्र लागु गरेको हो ।
भारतले माल्दिभ्सबाट भारत आउने नेपालीलाई भिसा प्रणालीलाई भने हटाएको छ । पछिल्लो समय भारत र माल्दिभ्सबीच सम्बन्धमा सुधार आएसँगै त्यहाँबाट भारत आउने नेपालीलाई अनिवार्य गरिएको भिसा प्रावधान हटाइएको हो। भारतले चीन, पाकिस्तान, हङकङ, मकाउ र माल्दिभ्सबाट भारत जाने नेपालीलाई अनिवार्य भिसाको व्यवस्था गरेको थियो। सामान्यतः भारत र नेपालबीच भिसा आवश्यक नपर्ने भए पनि पछिल्लो समय भारतले आफूसँग राम्रो सम्बन्ध नभएका मुलुकबाट भारत जान चाहने नेपालीलाई भिसा अनिवार्य गरेको थियो।


















