काठमाडौं / उपत्यकाका आदिबासी नेवाः समुदायको जनआन्दोलनको दबावमा राष्ट्रिय सभावाट गुथि विधेयक फिर्ता लिएको अवस्थामा अव बनाउने कानुन नेवाः समुदायका गुथियारहरुको सहकार्य, सहमति अनुसार गुथिलाई स्वायत्तता दिनुपर्ने माग गर्न र गुथियारहरुको साझा अवधारणा बनाउनका लागि गुथियारहरुको राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।
नेवाः समुदायको साझा संगठन नेवाः देय् दबूको आयोजनामा बुधवार राजधानीमा नेवाः समुदायको जातीय परिषद्को बैठकले उक्त निर्णय गरेको थियो । देय् दबूका अध्यक्ष नरेश ताम्रकारको अध्यक्षतामा बसेको बैठकले सम्वन्धित जातीय संगठनले सम्वन्धित जातीय गुथिहरुको आवश्यकता अनुसार सम्मेलन गर्ने र नेवाः देय् दबूको संयोजनमा राष्ट्रिय स्तरमा सबै गुथिका गुथियारहरुको सहभागीतामा राष्ट्रिय गुथियार सम्मेलन गर्ने निर्णय गरेको हो ।
उक्त बैठकले अव गुथिलाई भूमि सुधार मन्त्रालय अन्तर्गत राख्न नहुने भन्दै संस्कृति मन्त्रालय अन्तर्गत राख्नुपर्ने माग गर्ने समेत निर्णय गरेको छ । गुथि विधेयकलाई संशोधन वा पुनरलेखनको नाममा फेरी ल्याउन नहुने र अव नयाँ नै विधेयक लेख्नुपर्ने त्यसका लागि गुथिहरुको तर्फवाट मस्यौदा गर्न पनि तयार रहेको धारणा राखेका थिए । गुथि भनेको नेवाः समुदायको परम्परागत प्रथाजन्त संस्था भएकोले नेपालको संविधान वा कानुनले समेत छुन नसक्ने जनाउँदै गुथिहरुलाई अन्तर्राष्ट्रिय कानुन अनुसार स्वायत्त संस्थाको रुपमा सरकारले स्वीकार गर्नुपर्ने मूल मर्मका साथ आफूहरु गुथिहरुमा समेत बहस गर्ने र अन्तिममा राष्ट्रिय सम्मेलन गरि निष्कर्ष निकाल्ने समेत गुथियारहरुले जनाएका छन् ।
















