काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले सरकारी खर्चमा भारतीय फिल्म अवार्ड (आईफा) गर्ने तयारीको विरोध गरेका छन् ।
पूर्वसांसद मञ्च नेपालको १९ औ साधारणसभालाई सम्बोधन गर्दै नेता नेपालले आईफाबारे आफ्नो मुलुकका लागि हुने लाभ हानीको विश्लेषण गरि निर्णय गर्नुपर्ने धारणा राखेका हुन् । नगरपालिकाले करोडौं तिरेर अवार्ड गर्ने निर्णयले नेपाली फिल्म निर्माताहरु चिन्तित भएको आफूले पाएको उनले जनाए ।
‘आफ्नो देशको साधनहरु संयन्त्रहरुलाई प्रतिकूल असर नपरोस् भनेर सोच्नुपर्छ । राष्ट्रिय पूँजी मासिएर विदेशी पूँजीहरु फस्टाउने, नेपालीले दु:ख पाउने, विदेशीहरुले रमाउने, त्यस्तो तरिका अपनाउने होइन, उनले भने, ‘नेपालको उद्योगधन्दाहरु धरासायी हुने विदेशीहरुका उद्योगीहरु एकदम लहलहाउने स्थिति होइन।’
उनले केही विशेष अवस्था र विषयले नेपालको राष्ट्रियता बेलाबखतमा संवेदनशील भएको हुनाले राष्ट्रको सर्वोपरी हितलाई ध्यानमा राखेर निर्णय गर्नुपर्नेमा जोड दिएका छन् ।


















