काठमाडौं– नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्कुटरमा बसेर यात्रा गर्न आह्वान गरेकी छन् ।
प्रधानमन्त्री ओलीले काठमाडौंमा अब मास्क लगाएर हिँड्न नपर्ने अभिव्यक्ति दिएकाले कांग्रेस सांसद शाहीले यस्तो आग्रह गरेकी हुन् ।
बिहीबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा शाहीले भनिन्, ‘आउनुस् मेरो स्कुटीको पछाडि बस्नुस् । बनस्थलीसम्म जाऊँ’ । शाहीले प्रधानमन्त्रीलाई भनिन्, ‘मास्क लगाउन पर्छ कि पर्दैन हेरौं ।’
केही दिनअघि मदन भण्डारीको जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा ओलीले एक वर्षअघि आफू प्रधानमन्त्री हुँदा आधा जनसंख्याले माक्स लगाउने गरेको र एक वर्षमा सरकारले काम गरेका कारण माक्स लगाएर हिंड्नुपर्ने स्थितिको अन्त्य भएका दाबी गरेका विरोधमा उनले यस्तो आग्रह गरेकी हुन् ।
मास्क लगाउनु नपर्ने प्रधानमन्त्रीको अभिव्यक्तिको सामाजिक सन्जालहरुमा पनि तीव्र विरोध भइरहेको छ ।


















