सकियो जबजः अब ओलीवाद कि प्रचण्डवाद ?

260

– निमकान्त पाण्डे

सत्तासीन नेकपाभित्र जनताको बहुदलीय जनवाद(जबज) र जनताको जनवाद (जज)को बहस उत्कर्षमा पुगेको छ । एमाले र माकेबीच पार्टी एकीकरण हुँदा महाधिवेशनसम्मका लागि जनताको जनवाद नै रणनीतिक नारा हुने भन्ने सहमतिलाई उछिन्दै विवादको बिजारोपण गरी एक पक्षले अर्को पक्षलाई कमजोर बनाउने प्रतिस्पर्धा सुरु भएको छ । यस्तो प्रतिस्पर्धाले सत्तासीन नेकपा विभाजनको दुर्घटनामा जाने सम्भावना पनि देखिएको छ ।

कुनै पनि राजनीतिक दलले निश्चित सिद्धान्त र मान्यतालाई अंगिकार गरेर आफ्नो राजनीतिक कार्यदिशा चयन गर्ने विश्वव्यापी मान्यता हो । नेपालकै सन्दर्भमा पनि सबैभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेसले समाजवादी विचारधारालाई अवलम्बन गर्दै पछि संस्थापक वीपी कोइरालालाई पथप्रदर्शक मान्दै आइरहेको छ । व्यवहारमा नेपाली कांग्रेसले अवलम्बन गर्दै आएको विचारधाराको कार्यान्वयनको अवस्था के छ ? त्यसको बारेमा व्याख्या नगरौँ, तर वैचारिक रूपमा कम्युनिस्टहरूको भाषामा भन्दा उसको दक्षिणपन्थी राजनीतिक लाइन प्रष्ट छ । कांग्रेस जतिसुकै मतिभ्रष्ट भएपनि उसले अंगाल्दै आइरहेको विचारधारालाई निरन्तरता दिँदै आएकाले नै अहिले पनि कांग्रेससँग निकै पुराना कार्यकर्ताको साथ रहँदै आएको छ ।

नेपाली कांग्रेसपछि अग्रगमनको विचारसहित स्थापना भएको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी हालसम्म आइपुग्दा न त प्रष्ट विचार धारामा अडिग हुन सक्यो न त आफ्नो राजनीतिक कार्यदिशालाई नै प्रष्ट पार्न सक्यो । कम्युनिस्ट पार्टी स्थापनाको सात दशकको अवधिमा यो पार्टी धेरै पटक टुटफुटको शिकार बन्दै आयो । पार्टी अनुसार फरक–फरक विचारधाराहरू अवलम्बन गरिए । कहिले एकता त कहिले फुट हुँदै अहिले एउटा शक्तिशाली सत्तारुढ दलका रूपमा पुनः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको छ । अहिले पनि नेपालमा कम्युनिस्ट पार्टीको संख्या उल्लेख्य नै छ । एउटा नेकपाले सत्ताको नेतृत्व गर्दै गर्दा अर्काे नेकपाले जनवादी क्रान्तिको बाटो अवलम्बन गर्दैगर्दा सत्तारुढ नेकपाको प्रतिबन्धमा परेर भूमिगत राजनीतिक गतिविधि गर्नुपरिरहेको अवस्था छ । सत्तामै सहभागी र सडकमा संघर्षरत कम्युनिस्ट पार्टीहरूपनि आ–आफ्नो अस्तित्वको लडाई लडि नै रहेका छन् ।

लामो समय कम्युनिस्ट भित्रै पनि फरक–फरक विचारधारा र कार्यदिशालाई अबलम्बन गर्दै राजनीतिक गतिविधिहरू सञ्चालन गरिरहेका तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपाप्रति जनताको निकै ठूलो आशा, भरोशा र विश्वास रहेको थियो । लामो समयदेखि उनीहरूले जनतासँग गरेका प्रतिवद्धता पुरा गर्ने अवसर जनताले जुराइदिएकाले एकीकृत पार्टी र दुई तिहाई नेतृत्वको नेकपासँग जनताले आशा र अपेक्षा राख्नु स्वभाविक पनि थियो । तर विडम्बना ! जनताको मत लिएर सबैभन्दा ठूलो दल बनेपनि नेकपा नेतृत्वको सरकार र स्वयम पार्टी समेत जनतालाई ‘कागलाई बेल पाके’ जस्तो मात्र हुन पुग्यो । एकातर्फ दुई तिहाई बहुमतसहितको नेतृत्वको सरकारले जनताका पक्षमा कुनै पनि काम गर्न सकिरहेको छैन बरु मुलुकलाई भ्रष्टाचार, अनियमितता र अनिश्चिततातर्फ धकेलिरहेको छ । अर्काेतर्फ पार्टीको अवस्था पनि त्यस्तै बन्दै गइरहेको छ । हिजो मदन भण्डारीले अघी सारेको जनताको बहुदलीय जनवादको वकालत गर्दै राजनीति गरिरहेको तत्कालीन नेकपा एमाले र २१ औँ सताब्दीको जनवादको वकालत गर्ने माओवादी केन्द्रले पार्टी एकीकरण पछि आफ्नो मुलभुत कार्यदिशा र विचारलाई तिलान्जली दिएका हुन् ।

सत्तासीन नेकपामा कुनै विचारधारा वा सिद्धान्त भन्दा पनि दुई जना नेता केपी ओली र प्रचण्ड को हाबी हुने र कसलाई नेता मान्ने भन्नेमै अल्मलिएको देखिन्छ । पछिल्लो पटक यो नेकपामा विचारको द्वन्द देखिएपनि त्यो विचारको नभई पार्टीमा ओली हावी हुने वा प्रचण्ड हावी हुने भन्ने नै देखिन्छ । दुई ठूला दलबीच गठबन्धनमार्फत चुनाव हुँदै पार्टी एकीकरणको चरणसम्म आइपुगेकाले एउटै दल भइसकेको अवस्थामा विचारको लडाइको कुनै अर्थ हुँदैन । किनभने कुन विचारलाई अवलम्बन गर्ने ? अबको बाटो के हुने ? भन्ने कुरा प्रष्ट भएरै पार्टी एकीकरण हुनुपर्दछ र भएको होला पनि भन्न सकिन्छ । नेकपाका शीर्ष नेताहरूले पनि बेलाबेलामा विचार र सिद्धान्तमा खासै समस्या नभएको जनाउँदै आएका छन् ।

तर हालै मात्र नेताहरूको शीर्ष बैठकमा जनताको बहुदलीय जनवादलाई छोडेर जनताको जनवादको लाइन अपनाउने भन्ने निर्णय हुनुले अबको यस नेकपा कुनै अमुक विचार वा सिद्धान्त भन्दा पनि ओलीवाद वा प्रचण्डवादको बाटोमा अघी बढ्ने भन्ने चरणमा रहेको देखिन्छ । तर दुई नेतामा रहेको सत्ताप्रतिको तीव्र महत्वाकांक्षा र शक्तिप्रतिको आशक्तिले नेकपाको भविष्य अथवा बाटो कता हो भन्ने कुरा अल्योलमा राखिदिएको छ । यदि यो महत्वाकांक्षालाई समयमै व्यवस्थापन गर्न नसक्ने हो भने नेकपारूपी दुई पाइलटयुक्त विमान जुनसुकै बेला पनि दुर्घटनामा पर्न सक्ने खतरा बढेर गएको छ ।

हुन त सत्तासीन नेकपाले कम्युनिस्ट पार्टीको आदर्श परित्याग गरिसकेको स्पष्टै छ । तथापी दुई तिहाई बहुमतको सरकार भएकाले जनताको पक्षमा काम गर्न सक्ने प्रशस्त आधारहरू छन् । परन्तु, सरकारले जनताको पक्षमा र राष्ट्रको पक्षमा काम गर्ने सोच बनाएको देखिदैन । विदेशी शक्तिलाई रिझाउने बाहेक सरकारको कुनै सोच देखिदैन । आफूले राजनीतिक आदर्शलाई परित्याग गरिसकेकाले कम्युनिष्ट पार्टीको आदर्श पछ्याउन खोज्ने राजनीतिक शक्ति र व्यक्तिहरूलाई निषेध गरेर र दमन गरेर अगाडि बढ्ने सत्तासीन नेकपाको स्पष्ट मार्गचित्र देखिन्छ । यस्तो जनविरोधी मार्गचित्रलाई जनताको जनवाद कसरी मान्ने ? जनताको जनवादलाई कार्यदिशा बनाइए पनि माथिल्लो तहका दुई शीर्ष नेताहरूको ‘वाद’ नै समग्र पार्टीको कार्यदिशा लागू भइरहेको अवस्था छ । निर्वाचन पद्धति समाप्त गरिएको छ र टिकाप्रथाबाट तल्लो तहको नेतृत्व चयनको परम्परा बसालिएको छ । जनवादी केन्द्रीयता भन्ने के हो ? यस सम्बन्धमा कार्यकर्ता पंक्तिलाई जानकारी समेत नभएको जस्तो प्रक्रियामा पार्टी गइरहेको छ । यस पार्टीले जबज अथवा जज जुनसुकै वादको पदचिन्ह देखाएपनि नेताहरूको मनोवादमा पार्टी घिसारिदै छ र पार्टीका नेताहरू विदेशी शक्तिको दलाल बनेर नेपाली जनतामाथि शासन गर्ने गलत सोचका साथ प्रस्तुत हुन खोजिरहेका छन् । यस्तो अवस्थाबाट पार्टी अगाडि बढ्न सक्दैन भन्ने कुरा बुझ्दाबुझ्दै पनि नेताहरू विदेशीहरूकै निर्देशनको प्रतिक्षा गरिरहेका देखिन्छन् । जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here