काठमाडौं / संखुवासभाको तिलिचुङ गाउँपालिका प्रहरीसँग भएको दोहोरो गोली हानाहान’ भएको भनिएको घटनामा विप्लव नेतृत्वको नेकपाले आफ्ना दुई जना कार्यकर्ता बेपत्ता भएको दाबी गरेको छ।
तिलिचुङ वडा नम्बर १ मा असार १६ गते विप्लव नेकपा र प्रहरीबीच दोहोरो गोली हानाहान भएको प्रहरीले दाबी गरेको थियो।
विप्लव नेकपाको पूर्वी केन्द्रीय कमाण्डले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै तीन बेपत्ता कार्यकर्तामध्ये सुजन अधिकारीलाई प्रहरीले गिरफ्तार गरेर राखेको दाबी गरेको छ। अन्य दुई कार्यकर्ताको अवस्था अज्ञात’ रहेको विप्लव नेकपाको दाबी छ। पूर्वी कमाण्ड इञ्चार्ज विषम’ले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, टोलीका सबै ज्यान जोगाउन सफल भए पनि तीन जना सम्पर्कविहीन भएकोमा एक जना सम्पर्कमा आएका छन्, दुई जनाको अवस्था अज्ञात रहेको छ।’
विज्ञप्तिमा पार्टी कार्यकर्ताहरु संगठन सुदृढीकरण र विस्तार अभियानमा पुगेका बेला प्रहरीले तीन वटा हेलिकप्टरसमेत खटाएर घेरा हाली एकोहोरो गोली चलाएको र त्यसलाई दोहोरो भिडन्तको संज्ञा दिएको दाबी गरिएको छ।


















