एमालेको विरोध गर्नेको प्रतिरोधमा उत्रिन प्रमकाे निर्देशन

19

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मिसन ०८४ मा बहुमत ल्याउन जनसंगठनहरुले सक्रियता बढाउनु पर्ने जनाएका छन् ।

समयसापेक्ष रुपमा संगठनलाई अघि नबढाएसम्म उपलब्धि हासिल नहुने उनले जनाएका छन् । गत फागुनदेखि वैशाखसम्म महाधिवेशन गरेका जनसंगठनका पदाधिकारीलाई संयुक्त रुपमा बधाई दिन आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले संगठनभित्र गुटबन्दी र बेठिक प्रवृतिलाई प्रोत्साहन गर्न नहुने जनाए ।

प्रतिकुल अवस्थामा एमालेले सरकारको नेतृत्व गर्नु परेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले चारैतिरबाट सरकार र पार्टीविरुद्ध भइरहेका हमलाको प्रतिवाद गर्न जनसंगठन क्रियाशील हुनुपर्ने जनाए ।

एमाले र नेतृत्वविरुद्ध सञ्चालित सम्पूर्ण अफवाह आफ्नो लोकतन्त्रप्रतिको निष्ठाले नै जवाफ दिइरहेको प्रधानमन्त्री ओलीले जनाए । ‘५५ वर्षअघि विभिन्न विचार समूहलाई एकजुट बनाएर एमालेको जग बसाइएको हो । अहिले एमाले फैलिएर जहाँ नेपाली, त्यहाँ एमाले भन्ने अवस्थामा पुगेको छ’ एमाले अध्यक्ष ओलीले भने, ‘हाम्रो लोकतन्त्रप्रतिको निष्ठामा कसैले प्रश्न नगरे हुन्छ । ’

जनसंगठन सक्रिय रुपमा लागेमा देश एमालेमय हुन धेरै समय नलाग्ने प्रधानमन्त्री ओलीले जनाएका छन् । कुनै बेला जनसंगठनलाई पिरामिड आकारमा बनाउने कि नबनाउने भन्नेमा पार्टीभित्रै संघर्ष गर्नुपरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले जनसंगठन अहिले कार्यकर्ता उत्पादन गर्ने कारखानाका रुपमा रहेको जनाए ।

प्रधानमन्त्री ओलीले जनसंगठनहरू प्रायोजित होइन, प्रयोजनसहितका बनाउन पनि निर्देशन दिए । ‘तपाईंहरू विचारमा प्रतिवद्ध र अनुशासनमा कठोर बन्नुहोस,’ प्रधानमन्त्री ओलीले भने, ‘कार्यकर्तालाई हप्काउने, थर्काउने र रुखो बचन बोल्ने काम नगर्नुस् । यस्तो व्यवहारबाट संगठनप्रति नयाँ मानिसको आकर्षण बढ्दैन । तपाईंहरूले साथी बनाउने, साथी बढाउने र साथी कायम राख्ने काम गर्नुहोस । ’

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा पिपिरीका बाजा बजाउनेले फैल्याएका भ्रम चिर्न पनि जनसंगठनलाई सक्रिय भएर लाग्न निर्देशन दिए । ‘सामाजिक सञ्जालमा ताल र सुरबिनाका पिपिरी बाजा बजाउनेलाई जवाफ दिनुहोस् ,’ प्रधानमन्त्री ओलीले भने, ‘जनसंगठनको यति ठूलो पंक्ति एक पटक सक्रिय हुने हो भने विरोधी आफैँ हराउँछन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here