काठमाडौ, नेपालमा गणतन्त्र, शान्तिप्रक्रिया, जस्ता महत्वपूर्ण परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेपाली कांग्रेसका नेता कृष्ण सिटौला अहिले मुलुकमा खैला बैला हुन थालेको संकेत गर्छन् । हालै बिबिसीलाई दिएको अन्तरवार्तामा उनले यसको संकेत गरेका छन् । केही समय अघी प्रधानमन्त्रीका परराष्ट मामिला सल्लाहकार डा राजन भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा यस्तै आसय व्यक्त गरेका थिए । नेता सिटौला नेत्रविक्रम चन्द विप्लव शान्तिको बाटो छाडेर बन्दुकको बाटोमा फर्किएको र उग्रवामपन्थी धार फेरि पनि विभिन्न ठाउँमा भड्किन थालेको फेरि पनि हिंसा र प्रतिहिंसा हुन थाल्यो, फेरि पनि रगत बग्न थालेको बताउँछन् । चन्दले शान्तिपूर्ण ढङ्गले कुरा उठाउनुभन्दा पनि बन्दुकको माध्यमबाट व्यवस्थामाथि प्रहार गर्न खोजेको उनको आरोप छ ।
तर यस विषयमा उनी सरकार गम्भीर नदेखिएको बताउँछन् । उनी सत्तारूढ दल पनि गम्भीर नभएको बताउँछन् । सिटौला संवादको माध्यमबाट समयमै समाधान गर्ने, निराकरण गर्नेतर्फ सत्तारूढ दलले प्रतिपक्षीसँग कुनै सल्लाह नगरेको आरोप लगाउँछन् । स्वयम् विप्लवसँग पनि कुनै कुराकानी र संवाद नगरेको उनको आरोप छ । त्यसैले यो व्यवस्थामाथि नै प्रहार हुन थाल्यो भन्ने ठूलो चिन्ताको विषय हो भन्छन् उनी ।
त्यस्तै दक्षिणपन्थी कोणबाट पूर्वराजा ज्ञानेन्द्रका गतिविधि बढ्न थालेको उनको आँकलन छ । विभिन्न सञ्चार माध्यमहरूबाट उनका गतिविधि र उनी चाहिन्छ भन्ने मागहरू उठेको कुरा आउन थालेको उनी बताउँछन्।
एकाएक उग्र दक्षिणपन्थी र उग्र वामपन्थी धार विकसित हुनु व्यवस्थाका लागि खतरा हुने सिटौलाको तर्क छ । यसमा सरकार उदासीन भएकोमा कहीँ यो गणतन्त्र खतरामा पर्ने, सङ्घीयता नै खतरामा पर्ने त होइन भन्ने चिन्ता उनले व्यक्त गरेका छन् । सबै प्रदेश सरकारले सङ्घीयता अनुसार काम गर्न नपाएको, केन्द्र सरकारले हस्तक्षेप गर्यो भनेर गुनासो गरिरहेको र प्रदेश सरकारहरूले जनताले कुनै डेलिभरी दिन नसकेको गुनासो बढिरहेकाले प्रदेशसरकारप्रति जनता तीव्र निराश हुनु र सरकारसँग निराश भइरहेको उनको भनाई छ । यसले सङ्घीयतालाई कमजोर पार्ने तर्फ देश उन्मुख भएको उनको भनाई छ ।
सिटौलाले संवैधानिक व्यवस्था उल्टाउन र पछाडि फर्काउन खोजेजस्तो आफूलाई भान भएको बताउँदै भनेका छन्, सङ्घीयता त दिनदिनै कमजोर हुँदै खारेजीको बाटोतर्फ जान आँटेको छ।
















