प्रविधि नभएर तरकारी-फलफूलको विषादी परीक्षण रोकिएको हो : मन्त्री मातृका यादव

209

काठमाडौं / उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा मन्त्री मातृका यादवले भारतसँग झुकेर नभई विषादी परीक्षण गर्ने क्षमता नै नरहेका कारण अहिलेलाई विषादी परीक्षण रोकिएको बताएका छन् ।

सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले नेपालमै प्रविधि नभएर समस्या परेकाले भारत तथा तेस्रो देशबाट आयात हुने तरकारी-फलफूलको विषादी परीक्षण रोकिएको जनाएका हुन् ।

विषादी परीक्षण रोकेर भारतसँग झुकेको सत्तारुढ र कांग्रेसकै सांसद र नेताहरुले आरोप लगाइरहेका बेला मन्त्री यादवले उनीहरुमै झुक्ने बानी रहेको आरोप लगाए । ‘जसको आफ्नै बानी छ झुक्ने उसैले भन्छ झुक्यो, झुक्यो । हामी कसैसँग झुक्दैनौँ, सबैसँग मिलेर काम गर्छौँ’, यादवले भने, ‘कसैको दबाबमा परेको छैन, झुकेको पनि छैन । नेपालमा आफैँ नाकाबन्दी गर्ने्तिर हामी गयौँ। आफैँ नाकाबन्दी गर्न लागेकाले यसलाई हल गरिएको हो । भारतसँग झुकेको होइन, समस्या समाधान गरिएको हो ।’

लामो समय सत्तामा बसेकाहरु अहिले ठुला राष्ट्रवादी बन्न खोजेको बताउँदै उनले आफ्नो धोती खुस्केको थाहा नपाउनेले धेरै कराउन नहुने पनि जिकिर गरे । ‘लामो समय सत्तामा बस्नेले देखेनन्। विषादी खानु हुँदैन भनेर निर्णय गरौँ । हामीसँग विषादी परीक्षण गर्ने क्षमता नै रहेनछ’, उनले भने, ‘लामो समय सत्तामा बसेर केही नगर्नेहरु अहिले कराइरहेका छन् । राम्रो गर्न खोजेका हौँ, मेरो पनि कमजोरी हुन सक्छ । तर विषादी जाँच्ने प्रविधि कृषि मन्त्रालयमा त्यो क्षमता नै रहेनछ । त्यही भएर अहिले फिर्ता गरिएको हो ।’

राम्रो कामलाई कसैले अपराध बुझ्छ भने आफूले केही भन्न नसक्ने उनले जनाए । ‘अहिले यहाँ आउँदा ठाउँ ठाउँमा जाम छ, विषादी जाँच्न माग गर्दै कराइरहेका रहेछन् । आफू यत्रो लामो समय बस्दा केही नगर्ने अनि सरकारले गर्न खोज्दा विरोध गर्ने यो कस्तो तरिका हो ?’ नेपालमा आयात हुने फलफूल तथा तरकारी परीक्षण गर्ने प्रविधि काठमाडौँको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा मात्रै रहेको अरु ठाउँमा नराखुन्जेल स्थगित गरिएको उनले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here