काठमाडौ, नेपालको राष्ट्रिय सुरक्षा र प्रतिरक्षा सम्बन्धमा आवश्यक नीति तथा रणनीति निर्माण गर्न प्रतिरक्षा विश्वविद्यालय खुल्ने भएको छ । प्रतिरक्षा सम्बन्धी नीति तथा रणनीतिको सहज कार्यान्वयनको सुनिश्चितता गर्न राज्यलाई आवश्यक पर्ने दक्ष जनशक्ति तयार गरी सो सम्बन्धी नीति निर्माणमा सघाउ पुर्याउन राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापनाको काम अघी बढाइएको छ । त्यसका लागि नेपाली सेनाका कर्नेलको नेतृत्वमा जंगी अड्डामा आवश्यक जनशक्तिसहित सम्पर्क कार्यालय स्थापना गरिएको छ ।
विश्वका विभिन्न राष्ट्रहरुले आफ्नो राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षाको सुदृढिकरण तथा आफ्नै विशिष्ट परिवेश र राष्ट्रिय हित अनुकूल र आफ्नै रणनीतिक संस्कार अनुसार अध्ययन, अनुसन्धान र अध्यापन गराउन राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय राष्ट्रिय प्रतिरक्षा महाविश्वविद्यालय तथा राष्ट्रिय युद्ध महाविश्वविद्यालय स्थापना गर्ने गर्छन् ।
अमेरिका, चीन, बेलायत लगायत सार्क मुलुकहरु भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश एवं अफ्रिकी मुलुकहरुमा समेत यस प्रकारका उच्च प्राज्ञिक संस्थाहरु स्थापना गरी राष्ट्रिय सुरक्षा एवं प्रतिरक्षा सम्बद्ध विषयहरुमा उच्च शिक्षा प्रदान हुदै आईरहेको छ ।
नेपाल सरकारले नीति तथा कार्यक्रम एवं चालु आर्थिक वर्षको बजेटमा समेत राष्ट्रिय प्रतिरक्षा महाविश्वविद्यालय स्थापना गर्ने विषय समावेश गरिएको छ ।

















